काठमाडौं- बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सवारी साधनको भाडादर बढाएको छ। केन्द्र सरकारले गतसाता सार्वजनिक सवारीको भाडा समायोजन गरेसँगै बागमती प्रदेश सरकारले प्रदेश भित्र चल्ने सार्वजनिक यात्रुबाहक तथा मालबाहक सवारीको भाडा बढाएको हो।
इन्धनको मूल्य बढेसँगै प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले काठमाडौं उपत्यकासहित प्रदेशभर चल्ने सवारी साधनको भाडादर बढाएको हो। शुक्रबार यातायात व्यवसायीसहित श्रम, रोजगार तथा यातायात मन्त्रालयमा भएको छलफलपछि भाडा समायोजन गर्न सिफारिस भएको थियो। सोही सिफारिसअनुसार आज प्रदेश राजपत्रमा सूचना प्रकाशित भएसँगै बढेको भाडा प्रदेशभर कार्यान्वयनमा आएको छ।
प्रकाशित सूचनाअनुसार काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनको भाडा २५.९६ प्रतिशतले बढाइएको छ।
त्यस्तै पेट्रोलियम पदार्थबाट सञ्चालन हुने ट्याक्सी सेवामा १२.३९ प्रतिशत, उपत्यका बाहिरका यात्रुवाहक सवारीमा १७.३५ प्रतिशत र मालवाहक सवारी साधनको २६.७९ प्रतिशतले भाडा बढाइएको छ।
यसअघि २०८० भदौ ७ गते लागु भएको भाडादर अनुसार ५२ रुपैयाँ रहेको सुरुवाती भाडालाई समायोजन गरी ५८ रुपैयाँ कायम गरिएको हो। नयाँ भाडा दर अनुसार यात्रुले अब प्रति २०० मिटर यात्रा गरेबापत १२ रुपैयाँ भुक्तानी गर्नुपर्नेछ। यसअघि १०.३४ रुपैयाँ रहेको थियो।
यसैगरी ट्याक्सीको प्रतिक्षा शुल्क प्रतिमिनेट १ रुपैयाँ तोकिएको छ भने ट्याक्सीले अधिकतम ३० मिनेटसम्म मात्र प्रतिक्षा गर्न पाउने व्यवस्था गरिएको छ। रात्रिकालीन समयमा ट्याक्सी प्रयोग गर्ने यात्रुहरूका लागि भने भाडा केही महँगो पर्नेछ। बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन हुने ट्याक्सीको हकमा प्रति २०० मिटरको यात्रा शुल्क १७ रुपैयाँ कायम गरिएको प्रदेश राजपत्रमा उल्लेख छ।
प्रदेश सरकारले विद्युतीय यात्रुबाहक सवारी र ट्याक्सीको भाडा भने यथावत राखेको छ। ईभीको भाडा २०७९ वैशाख १ गते तोकिएकै कायम हुने मन्त्रालयले स्पष्ट पारेको छ।
अन्तर प्रदेश चल्ने सवारी साधनको भाडा भने यसअघि नै यातायात व्यवस्था विभागले बढाइसकेको छ। प्रदेश सरकारले आफ्नो क्षेत्र भित्र चल्ने सवारीको मात्रै भाडा बढाउन पाउने व्यवस्था गरेको छ।