सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

पेट्राेल ट्याक्सीको ‘फ्ल्याग डाउन’ अब ५८ रुपैयाँ पुग्यो, ईभी ट्याक्सीको यथावत

शनिबार, चैत २८ २०८२
पेट्राेल ट्याक्सीको ‘फ्ल्याग डाउन’ अब ५८ रुपैयाँ पुग्यो, ईभी ट्याक्सीको यथावत

नयाँ भाडा दर अनुसार यात्रुले अब प्रति २०० मिटर यात्रा गरेबापत १२ रुपैयाँ भुक्तानी गर्नुपर्नेछ। यसअघि १०.३४ रुपैयाँ रहेको थियो।

काठमाडौं- बागमती प्रदेश सरकारले पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सीको भाडा बढाएको छ।  योसँगै पेट्रोल ट्याक्सीको सुरुवाती भाडा अर्थात् फ्ल्याग डाउन ५८ रुपैयाँ पुगेको छ। 

समायोजन भएको नयाँ भाडाअनुसार प्रति २०० मिटर यात्रा शुल्क १२ रुपैयाँ र रात्रिकालीन समयमा १७ रुपैयाँ निर्धारण गरिएको छ। इन्धनको मूल्यमा ५ प्रतिशतभन्दा बढीको उतारचढाव आएमा भाडादर पुनः समायोजन गरिने व्यवस्था गरिएको छ।

बागमती प्रदेश श्रम,रोजगार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ भाडादर कायम गरेको हो। यसअघि २०८० भदौ ७ गते लागु भएको भाडादर अनुसार ५२ रुपैयाँ रहेको सुरुवाती भाडालाई समायोजन गरी ५८ रुपैयाँ कायम गरिएको हो। नयाँ भाडा दर अनुसार यात्रुले अब प्रति २०० मिटर यात्रा गरेबापत १२ रुपैयाँ भुक्तानी गर्नुपर्नेछ। यसअघि १०.३४ रुपैयाँ रहेको थियो। 

यसैगरी ट्याक्सीको प्रतिक्षा शुल्क प्रतिमिनेट १ रुपैयाँ तोकिएको छ भने ट्याक्सीले अधिकतम ३० मिनेटसम्म मात्र प्रतिक्षा गर्न पाउने व्यवस्था गरिएको छ। रात्रिकालीन समयमा ट्याक्सी प्रयोग गर्ने यात्रुहरूका लागि भने भाडा केही महँगो पर्नेछ। बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन हुने ट्याक्सीको हकमा प्रति २०० मिटरको यात्रा शुल्क १७ रुपैयाँ कायम गरिएको प्रदेश राजपत्रमा उल्लेख छ। 

मन्त्रालयका अनुसार यो भाडा दर इन्धनको मूल्यलाई मुख्य आधार मानेर समायोजन गरिएको हो। आगामी दिनमा पेट्रोलियम पदार्थको बजार मूल्यमा ५ प्रतिशत वा सोभन्दा बढीले उतारचढाव आएमा सोही बमोजिम पुनः भाडा समायोजन गरिने राजपत्रमा भनिएको छ। 

यता विद्युतीय ट्याक्सीको भाडादर भने यथावत राखिएको छ। हाल बागमती प्रदेशको अन्तर्गत काठमाडौं उपत्यकामा ३ हजारभन्दा बढी विद्युतीय ट्याक्सी सञ्चालनमा छन्। विद्युतीय ट्याक्सीमा भाडा वृद्धि नभएकाले यात्रुले केही राहत महसुस गर्ने छन्। 


प्रकाशित : शनिबार, चैत २८ २०८२१३:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend