काठमाडौं- नेपाल बैंकर्स संघका प्रतिनिधि र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच भेटघाट भएको छ। भेटका क्रममा अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रले नीतिगत अप्ठ्याराका कारण भोगिरहेका समस्याबारे स्पष्ट सुझाव दिन बैंकरहरूलाई आग्रह गरेका थिए।
त्यसक्रममा बैंकर्स संघका प्रतिनिधिले हाल देखिएका विभिन्न जटिलताबारे वाग्लेको ध्यानाकर्षण गराउँदै महत्त्वपूर्ण सुधारका माग अघि सारेका छन्। उनीहरूले खराब कर्जाको व्यवस्थालाई पुनरवलोकन गर्नुपर्ने, गैरबैंकिङ सम्पत्ति व्यवस्थापनका लागि स्थानीय तहबाट सिफारिस लिन सहजीकरण गर्नुपर्ने तथा उठ्न बाँकी आम्दानीबाट कर तिर्नुपर्ने व्यवस्थालाई सहज बनाउनुपर्ने माग गरेका हुन्।
बैंकरहरूले यी तीनवटै व्यवस्थाका कारण वित्तीय व्यवस्थापनमा दबाब बढेको भन्दै नीतिगत सुधार आवश्यक रहेको धारणा राखेका थिए।
अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रका व्यावहारिक समस्या समाधान गर्न सरकार सकारात्मक रहेको जनाउँदै प्रि-बजेटको समयमा बैंकहरूसँग पुनः छलफल गरी थप सुझाव लिने आश्वासन दिएका छन्। साथै उनले नीतिगत सहजीकरणका लागि आफू तयार रहेको जानकारी पनि बैंकरहरूलाई दिएका छन्।