शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

अदुवाको मूल्य नपाउँदा चिन्तामा किसान

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत ८ २०७८
अदुवाको मूल्य नपाउँदा चिन्तामा किसान

तनहुँ- जिल्लाको घिरिङ गाउँपालिका-२ चिन्नेखोला निवासी दुलबहादुर थापा शारीरिकरुपले कमजोर छन्। जन्मिएपछि करिब पाँच/छ वर्षको उमेरदेखि उनका हातखुट्टा राम्रोसँग चल्न सक्दैनन्।

शारीरिक अपाङ्गता भए पनि सपाङ्गभन्दा कमी हुनुहुँदैन भन्ने आत्मबलका साथ गत वर्षदेखि अदुवाखेतीमा थापा क्रियाशील छन्। गण्डकी प्रदेशको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिको लागि अधिकार विकासको लागि स्रोत केन्द्र (रिसेड) मार्फत पाँच हजार रूपैयाँ अनुदान पाएपछि थापाले अदुवाखेती गरेका हुन्।

करिब चार रोपनी क्षेत्रफलमा अदुवा लगाउँदा झण्डै ४ सय क्विन्टल अदुवा उत्पादन भएको किसान थापा बताउँछन्। वैशाखमा करिब ३ सय किलोग्राम बीउ अदुवा लगाएर पुसमा खन्दा उक्त परिमाणमा अदुवा उत्पादन भएको उनले बताए। दुई महिना अदुवा खन्नैमा बितेको उनको भनाइ छ। 'तर अदुवा अत्यन्तै न्यून मूल्यमा बिक्री गर्नुपर्ने अवस्था आएपछि चिन्ता थपिएको छ' उनले भने। अदुवा उत्पादन भएअनुरुप बजार मूल्य भैदिएको भए राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ।

अदुवा प्रतिकिलो ३० रूपैयाँमा बिक्री गर्नुपर्ने बाध्यता आएपछि त्यस क्षेत्रका करिब १५ घरका अदुवा किसान मर्कामा परेका छन्। सस्तो मूल्यमा बिक्री गर्नुपर्ने अवस्था आएपछि त्यस क्षेत्रका किसान यतिबेला सुठो बनाउन व्यस्त छन्। थापाले उक्त गाउँमा अदुवाखेती गर्न थालेपछि सो क्षेत्रका अन्य मानिस पनि सो खेतीतर्फ आकर्षित भएका थिए। त्यस क्षेत्रका करिब १५ घरधुरी कम्तीमा ३ सय देखि ९ सय किलोग्रामसम्म अदुवा उत्पादन गर्दै आएका छन्।

सुठो बनाइएपछि लामो समयसम्म नबिग्रने र मूल्य राम्रै पाउने भएपछि उनीहरु अदुवा बिक्री गर्नुको साटो सुठो बनाउन व्यस्त हुन्छन्। सोही वडा निवासी नन्दवीर थापाले करिब दुई रोपनीमा अदुवा लगाउँदा झण्डै ९ सय किलोग्राम अदुवा उत्पादन भए पनि बिक्री गर्न नसक्दा चिन्तित भएको दुखेसो पोखे।

सुठो बनाउने आफ्नै तरिका छ। तलबाट काँचो दाउरा सल्काएर धुँवाको ताप दिएर अदुवालाई सुकाइन्छ। कम्तीमा एक हप्तासम्म निरन्तर अदुवालाई फर्काइफर्काइ सुकाइन्छ। यसरी सुकाइएको अदुवा हातले मुठी पार्दा डल्लो भयो भने सुठोको लागि लायक हुने किसान बताउँछन्।

यसरी बनाइएको सुठोको मूल्य प्रतिकिलो ३ सय रूपैयाँसम्म पर्छ। एक वर्ष अदुवा लगाएको क्षेत्रमा अर्को वर्ष पनि अदुवा लगाउन नहुने अर्का किसान लालसिं राना बताउँछन्। एउटै जग्गामा लगातार अदुवाखेती गरिए किराको प्रकोप बढ्ने र उत्पादन नराम्रो हुने भएकाले एक वर्षको फरकमा अदुवाखेती गर्दा उत्तम हुने उनी बताउँछन्। रासस


प्रकाशित : मंगलबार, चैत ८ २०७८०८:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend