काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र दलाल कम्पनी ५५ नम्बर भृकुटी स्टक ब्रोकिङलाई निलम्बन गरेको छ।
सोमबार बसेको बोर्ड बैठकले विवादास्पद दीपक भट्टलाई नियमविपरीत उधारोमा सेयर किनबेच गराएको र भुक्तानी प्रक्रियामा गम्भीर लापरबाही गरेको आधारमा सो निर्णय गरेको हो। कम्पनीलाई अर्को निर्णय नहुन्जेलसम्मका लागि निलम्बन गर्दै स्पष्टीकरण समेत सोधिएको छ।
सम्पत्ति शुद्धीकरण विभागले गरेको अनुसन्धानका क्रममा यस ब्रोकर कम्पनीले वित्तीय विचलन गरेको तथ्य फेला परेपछि बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई कारबाहीका लागि पत्राचार गरिएको थियो।
विभागको छानबिनले दीपक भट्टले नेपाल पुनर्बीमा कम्पनी लगायतको सेयर खरिद गर्दा आफ्नो बैंक खाता प्रयोग नगरी अन्य विभिन्न व्यक्तिका खाताहरूबाट भुक्तानी गरेको पुष्टि गरेको छ।
प्रचलित नियमअनुसार सेयर खरिद गर्नुअघि लगानीकर्ताबाट कम्तीमा २५ प्रतिशत पेस्की रकम लिनुपर्ने अनिवार्य प्रावधान भए पनि ५५ नम्बर ब्रोकरले सो नियम उल्लंघन गर्दै भट्टलाई उधारोमा कारोबारको सुविधा दिएको पाइएको हो।
तेस्रो व्यक्तिको खाताबाट भुक्तानी स्वीकार गरेर सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिम बढाएको ठहर गर्दै बोर्डले भृकुटी स्टकलाई कारबाहीको दायरामा ल्याएको हो।
काठमाडौंसहित देशका विभिन्न १० स्थानबाट सेवा दिइरहेको यस कम्पनीमा आबद्ध लगानीकर्ताहरू बोर्डको निर्णयबाट प्रत्यक्ष प्रभावित हुने भएका छन्।