शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

कालिन्चोक हाइड्रोपावरकाे आईपीओमा आजदेखि आवेदन दिन सकिने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत २२ २०८२
कालिन्चोक हाइड्रोपावरकाे आईपीओमा आजदेखि आवेदन दिन सकिने

यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरण अन्तर्गत सर्वसाधारण लगानीकर्ताहरूलाई आईपीओ जारी गरेकाे हाे।

काठमाडाैं- कालिन्चोक हाइड्रोपावर लिमिटेडले आज चैत २२ गतेदेखि कालिन्चोक हाइड्रोपावर प्राथमिक सेयर (आईपीओ) निष्कासन  गरेको छ। 

यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरण अन्तर्गत सर्वसाधारण लगानीकर्ताहरूलाई आईपीओ जारी गरेकाे हाे।

कुल ५५ करोड रुपैयाँ जारी पुँजी रहेको यस कम्पनीले त्यसको २५ प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।

 सोमध्ये स्थानीयका लागि ५ लाख ५० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ८२ हजार ५०० कित्ता सेयर यसअघि नै बिक्री भइसकेको छ। अहिले सर्वसाधारणका लागि छुट्याइएको कुल कित्तामध्ये सामूहिक लगानी कोषलाई ४१ हजार २५० कित्ता र कर्मचारीहरूका लागि १६ हजार ५०० कित्ता सुरक्षित गरी बाँकी रहेको ६ लाख ८४ हजार ७५० कित्ता सेयर बिक्री खुल्ला गरिएको हो।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यो निष्कासन छिटोमा चैत २५ गते बन्द हुनेछ भने पर्याप्त आवेदन नपरेको खण्डमा २०८३ बैशाख ६ गतेसम्म समय थपिनेछ। 

केयर रेटिङ नेपालले यस कम्पनीलाई 'केयरएनपी डबल बी' रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।

 निष्कासनको बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ भने लगानीकर्ताले मेरो सेयर एप वा आस्बा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरू मार्फत आवेदन दिन सक्नेछन्।


प्रकाशित : आइतबार, चैत २२ २०८२११:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend