काठमाडौं- आर्थिक वर्ष २०८२/८३ को सुरुवाती ८ महिनामा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कुल ५२ वटा पब्लिक कम्पनीलाई सेयर निष्कासनका लागि अनुमति प्रदान गरेको छ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ८ महिनाको आर्थिक प्रतिवेदनअनुसार यो अवधिमा कुल ३७ अर्ब १ करोड ३ लाख रुपैयाँबराबरको सेयर जारी गर्न स्वीकृति दिएको हो।
अनुमति पाउने कम्पनीहरूमध्ये २१ वटा कम्पनीले ८ अर्ब ६९ करोड ६८ लाख रुपैयाँबराबरको सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गरेका छन्।
त्यस्तै २२ वटा म्युचुअल फण्डलाई २३ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको एकाइ निष्कासन गर्न बाटो खुलेको छ। ७ वटा कम्पनीले ४ अर्ब ९४ करोड १८ लाख रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्ने अनुमति पाएका छन् भने १ कम्पनीले ४ करोड ६७ लाख रुपैयाँको एफपीओ र १ कम्पनीले २० करोड रुपैयाँ बराबरको डिभेन्चर निष्कासनको स्वीकृति पाएका छन्। जसमध्ये अधिकांस कम्पनीले आईपीओ जारी गरेर दाेस्राे बजारमा काराेबार सुचारु गरिसकेका छन्।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हालसम्म २ सय ८६ कम्पनीहरूको सेयर सूचीकूत भइ दोस्रो बजारमा कारोबार भइरहेको छ। जसमा सबैभन्दा धेरै ९७ वटा जलविद्युत समूहका कम्पनीहरू रहेका छन्।
अन्य क्षेत्रगत विवरण हेर्दा ५० वटा लघुवित्त कम्पनी, २७ वटा इन्स्योरेन्स कम्पनी र २७ वटा उत्पादन तथा प्रशोधन समूहका कम्पनीहरू सूचीकृत छन्। त्यसैगरी २० वटा वित्त कम्पनी, १९ वटा वाणिज्य बैंक र १७ वटा विकास बैंकले नेप्सेमा कारोबार गरिरहेका छन्।
अन्य समूह अन्तर्गत १० वटा कम्पनी, होटल समूहका ८ वटा, लगानी समूहका ७ वटा र व्यापार समूहका ४ वटा कम्पनीहरू पनि बजारमा सूचीकृत भई कारोबार गरेका छन्।
पछिल्लो समय पुँजी बजारमा नयाँ कम्पनीहरूको प्रवेश हुने क्रम बढ्दो छ अहिले पनि ९५ वटा विभिन्न क्षेत्रका कम्पनीहरूकाे ६५ अर्ब ८ कराेड ६७ लाख ९२ हजार बराबरकाे आईपीओ निष्कासनको अन्तिम अनुमतिको पर्खाइमा धितोपत्र बोर्डको पाइपलाइनमा रहेका छन्।