काठमाडाैं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्मको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ।
विवरणअनुसार आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब ४३ अर्ब ५४ करोड (४.४ प्रतिशत) ले बढेर कुल ५७ खर्ब ४१ अर्ब २४ करोड पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ६.० प्रतिशत अर्थात् ३ खर्ब ४ अर्ब ८२ करोडले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा हेर्दा २०८२ फागुन मसान्तसम्म निजी क्षेत्रतर्फको कर्जा विस्तार ६.७ प्रतिशत रहेको छ।
निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३७.३ प्रतिशत हिस्सा रहेको छ। अघिल्लो वर्षमा निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ ६३.२ र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३६.८ प्रतिशत थियो।
बैंकहरूका आधारमा आठ महिनामा वाणिज्य बैंकहरूको कर्जा प्रवाह ४.६ प्रतिशत, विकास बैंकहरूको ३.५ प्रतिशत र वित्त कम्पनीहरूको १.९ प्रतिशतले वृद्धि भएको छ। धितोको आधारमा बैंकहरूको कुल कर्जामध्ये १५ प्रतिशत चालु सम्पत्तिको सुरक्षणमा र ६३.८ प्रतिशत घरजग्गा धितो सुरक्षणमा रहेको छ।
क्षेत्रगत रूपमा उपभोग्य क्षेत्रतर्फको कर्जा १०.५ प्रतिशत, निर्माण क्षेत्रमा ८.८ प्रतिशत, यातायात तथा सञ्चार क्षेत्रमा ७.७ प्रतिशत र औद्योगिक उत्पादनमा ५.६ प्रतिशतले कर्जा बढेको छ।
कृषि क्षेत्रतर्फको कर्जा २.० प्रतिशत र वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा २.७ प्रतिशतले घटेको छ।
कर्जाका प्रकृतिअनुसार ट्रष्ट रिसिट कर्जा २३.२ प्रतिशत र मार्जिन प्रकृतिको कर्जा ११.१ प्रतिशतले बढ्दा अधिविकर्ष (ओभरड्राफ्ट) कर्जा भने २.७ प्रतिशतले खुम्चिएको छ।
त्यसैगरी राष्ट्र बैंकले विदेशी विनिमय बजारबाट ४ अर्ब ६५ करोड अमेरिकी डलर खुद खरिद गरी ६ खर्ब ६५ अर्ब १० करोड रुपैयाँ बराबरको तरलता प्रवाह गरिएको छ। साथै अमेरिकी डलर बिक्री गरेर ३ खर्ब ७४ अर्ब ३५ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरिएको छ।
अन्तरबैंक कारोबारमा भने अघिल्लो वर्षको तुलनामा गिरावट देखिएको छ। २०८२ फागुनसम्म कुल ७ खर्ब ४३ अर्ब ८६ करोडको अन्तरबैंक कारोबार भएको छ। जुन अघिल्लो वर्ष १२ खर्ब ९३ अर्ब ९ करोड थियो। ब्याजदरतर्फ ९१ दिने ट्रेजरी बिलको भारित औसत दर २.९३ बाट घटेर २.४७ प्रतिशत कायम भएको छ भने अन्तरबैंक ब्याजदर २.६८ प्रतिशतमा झरेको छ।
बजारमा ब्याजदरको ओरालो यात्रा जारी रहँदा २०८२ फागुनमा वाणिज्य बैंकहरूको औसत आधार दर ५.१० प्रतिशत, विकास बैंकहरूको ७.१७ प्रतिशत र वित्त कम्पनीहरूको ७.६८ प्रतिशत कायम भएको छ। अघिल्लो वर्ष फागुनमा वाणिज्य बैंकहरूको आधार दर ६.३४ प्रतिशत थियो।
त्यसैगरी वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.४५ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.९० प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष फागुनमा कर्जाको ब्याजदर ८.४० प्रतिशत रहेको थियो।