शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

बाह्य क्षेत्रमा निरन्तर सुविधाजनक अवस्था : सञ्चिति २३ अर्ब ८ करोड डलर, ५ खर्ब ५२ अर्बले चालु खाता बचतमा

बिहीबार , चैत १९ २०८२
बाह्य क्षेत्रमा निरन्तर सुविधाजनक अवस्था : सञ्चिति २३ अर्ब ८ करोड डलर, ५ खर्ब ५२ अर्बले चालु खाता बचतमा

काठमाडौं- अर्थतन्त्रको बाह्य क्षेत्रमा सुविधाजनक अवस्थाले निरन्तरता पाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनले पछिल्ला केही महिनादेखिको निरन्तरको सुविधाजनक अवस्था देखाएको छ।

चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा बाह्य क्षेत्रतर्फ चालु खाता ५ खर्ब ५२ अर्ब ८५ करोड  रुपैयाँले बचतमा रहेको छ। त्यस्तै शोधनान्तर स्थिति ६ खर्ब ५८ अर्ब ३५ करोड रुपैयाँले बचतमा रहेको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति २३ अर्ब ८ करोड डलर रहेको छ। नेपाली रुपैयाँमा यो सञ्चिति ३४ खर्ब १३ अर्ब ७७ करोड रहेको छ। हालको सञ्चिति १८.५ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।

उपभोक्ता मूल्य सूचकांक आधारित वार्षिक बिन्दुगत मुद्रास्फीति ३.६२ प्रतिशतमा सीमित रहेको छ।

रेमिट्यान्स पनि उल्लेखनीय रूपमा बढेको छ। विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३७.७ प्रतिशतले र अमेरिकी डलरमा ३१.० प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको फागुन महिनाको विप्रेषण आप्रवाह १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रहेको छ।

यस्तै व्यापारतर्फ निर्यात २०.८ प्रतिशतले बढ्दा आयात १२.५ प्रतिशतले बढेको छ। 

सरकारी वित्ततर्फ नेपाल सरकारको कुल खर्च ९ खर्ब २६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ भने राजस्व परिचालन ७ खर्ब ४७ अर्ब २८ करोड रुपैयाँ रहेको छ।

मौद्रिक सूचकहरू पनि बढ्दो प्रवृत्तिमा छन्। विस्तृत मुद्राप्रदाय ६.७ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.५ प्रतिशतले बढेको छ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ६.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ४.४ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५.१ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.७ प्रतिशत रहेको छ।

बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर २.६८ प्रतिशत र ९१ दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.४७ प्रतिशत रहेको छ। वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.४५ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.९० प्रतिशत रहेको छ।


प्रकाशित : बिहीबार , चैत १९ २०८२१७:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend