शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सोपान फर्मास्यूटिकल्सले बैशाख २ गतेदेखि आईपीओ निष्कासन गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १८ २०८२
सोपान फर्मास्यूटिकल्सले बैशाख २ गतेदेखि आईपीओ निष्कासन गर्ने

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट पछि अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

काठमाडौ‌ं- सोपान फर्मास्यूटिकल्स लिमिटेडले २०८३ बैशाख २ गतेदेखि प्राथमिक सेयर आईपीओ निष्कासन गर्ने भएको छ। 

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट पछि अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीको आफ्नो जारी पुँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता सेयर आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो। 

सोमध्ये कम्पनीले १० प्रतिशतले हुन आउने ४ करोड २९ लाख रुपैयाँ बराबरको ४ लाख २९ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेर बाँडफाँट गरिसकेको छ।

त्यस्तै, कम्पनीले १ लाख ७१ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि र २ लाख १४ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकेको छ।

अब भने कम्पनीले दोस्रो चरणमा बाँकी रहेको ३४ करोड ७४ लाख ९० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३४ लाख ७४ हजार ९०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्कासन गर्न लागेको हो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। 

सर्वसाधारण लगानीकर्तालेले २०८३ बैशाख ६ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि बैशाख १६ गतेसम्म लम्बिनेछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी सिंगल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

 


प्रकाशित : बुधबार, चैत १८ २०८२१०:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend