काठमाडाैं- एपोलो हाइड्रोपावर लिमिटेडले आगामी चैत २६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।
आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बाँडफाँट गरिसकेको कम्पनीले अब दोस्रो चरण अन्तर्गत सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो।
कम्पनीले कुल जारी पुँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १४ लाख १० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। यसअघि नै आयोजना प्रभावितका लागि ४ लाख ७० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ९४ हजार कित्ता बाँडफाँट भइसकेको छ। त्यस्तै, सामूहिक लगानी कोषलाई ३७ हजार कित्ता र कर्मचारीलाई १८ हजार ८०० कित्ता सेयर छुट्याएर बाँडफाँट गरिसकिएको छ। अब बाँकी रहेको ७ करोड ८० लाख २० हजार रुपैयाँ बराबरको ७ लाख ८० हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन हुनेछ।
लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यो निष्कासन छिटोमा चैत ३० गते र ढिलोमा २०८३ वैशाख १० गते बन्द हुनेछ। रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यस कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाउँछ।
हिमालयन क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको यस आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र 'मेरो सेयर' मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।