काठमाडाैं- साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक ७१.०५ अंकले घटेर २८७९.११ बिन्दुमा पुगेको छ।
आजको कारोबारमा ३ सय ३३ कम्पनीको ३ करोड ५२ लाख ४८ हजार ३ सय ९७ कित्ता सेयर १ लाख ९६ हजार १ सय ५८ पटक किनबेच हुँदा १३ अर्ब ३ करोड ३३ लाख १० हजार ८ सय ६७ रुपैयाँको कारोबार भएको छ।
आज सेन्सेटिभ इण्डेक्स २.५७ प्रतिशत, फ्लोट इण्डेक्समा २.६२ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६८ प्रतिशतले घटेको छ।
रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका सबैभन्दा धेरै रिडी हाईड्रो पावर कम्पनीको ७१ करोड ३ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन सबै उपसमूहको परिसूचक घटेको छ। फाइनान्स सबैभन्दा धेरै ३.३८ प्रतिशत घटेकाे छ। त्यस्तै बैंकिङ २.७८, विकास बैंक २.८९, होटल तथा पर्यटन २.२५, हाइड्रोपावर २.२१, लगानी २.९८, जीवन बीमा २.२०, उत्पादन तथा प्रशोधन १.०७, माइक्रोफाइनान्स २.११, निर्जीवन बीमा २.२३, अन्य २.५२ तथा व्यापार ३.०१ प्रतिशत घटेकाे छ।
गएको साता समग्रमा ७३ अंकले बढेको सेयर बजारमा यो साता पहिलो कारोबारदेखि नै घटेको छ।लामो समयदेखि स्थिर रहेको बजारमा निर्वाचनको नतिजाले नयाँ गति लियो। विशेषगरी पुराना दलहरूको विकल्पमा नयाँ शक्तिलाई प्राप्त म्यान्डेटले देशको आर्थिक संरचनामा सुधार र सुशासन आउने अपेक्षामा लगानीकर्ताहरू हौसिए पनि राजनीतिक दलले आन्दोलन वा सडक प्रदर्शनको घोषणा गर्दा बजारमा अन्योलको स्थिति सिर्जना हुन्छ।
लगानीकर्ताहरू आगामी दिनमा राजनीतिक समीकरण कस्तो हुने हो र यसले अर्थतन्त्रलाई कुन दिशामा लैजाने हो भन्ने विषयमा चिन्तित देखिन्छन्। यस्तो अवस्थामा धेरैजसो लगानीकर्ताले नयाँ खरिद गर्नुको सट्टा आफूसँग भएको सेयर बिक्री गरेर पर्ख र हेर को रणनीति अपनाउने गर्दछन्। जसले गर्दा बजारमा बिक्रीको चाप बढ्न सक्छ।
नेकपा एमालेको पछिल्लो आन्दोलनले आजको सेयर बजारमा प्रत्यक्ष असर पारेको देखिन्छ। नेपालको सेयर बजार विशेषगरी राजनीतिक घटनाक्रमप्रति निकै संवेदनशील हुने भएकाले यस्ता आन्दोलनले लगानीकर्ताको मनोबलमा तत्काल प्रभाव पार्छ।
पछिल्लो समय नेपालको राजनीतिमा आएको ठूलो फेरबदल र बालेन शाहको नेतृत्वमा सरकार गठन भएसँगै पुराना राजनीतिक दलका नेताहरूमाथि सुरु भएको छानबिन र पुराना राजनीतिक दलका शक्तिशाली नेताहरूमाथि कारबाही प्रक्रिया अगाडि बढ्दा बजारमा एक प्रकारको त्रास र उत्साह दुवै देखिएको छ। ठूला लगानीकर्ताहरू सम्पत्ति शुद्धीकरण र अवैध धनमाथि निगरानी बढ्ने डरले गर्दा केही ठूला लगानीकर्ताले बजारमा ठूलो रकम भित्र्याउन हिचकिचाएको देखिन्छ। जसले गर्दा बजारमा केही संकुचन आएको छ।