शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नेप्सेले सार्वजनिक गर्‍याे मार्जिन कारोबार कार्यविधि, न्यूनतम २० प्रतिशत सम्भार मार्जिन कायम राख्नुपर्ने

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १२ २०८२
नेप्सेले सार्वजनिक गर्‍याे मार्जिन कारोबार कार्यविधि, न्यूनतम २० प्रतिशत सम्भार मार्जिन कायम राख्नुपर्ने

कार्यविधिसँगै दोस्रो बजारमा मार्जिन कारोबारका लागि औपचारिक बाटो खुलेको छ। बुधबार बसेको बैठकले पारित गरेको उक्त कार्यविधिलाई नेप्सेले बिहीबार आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको हो।

काठमाडाैं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सञ्चालक समितिले मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०८२ पारित गरेको छ।

कार्यविधिसँगै दोस्रो बजारमा मार्जिन कारोबारका लागि औपचारिक बाटो खुलेको छ। बुधबार बसेको बैठकले पारित गरेको उक्त कार्यविधिलाई नेप्सेले बिहीबार आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको हो। 

धितोपत्र बोर्डको मार्जिन कारोबारसम्बन्धी निर्देशिकाको आधारमा तयार पारिएको यस कार्यविधिले लगानीकर्तालाई ब्रोकरमार्फत ऋण लिएर सेयर खरिद गर्ने सुविधा प्रदान गर्नेछ।

कार्यविधिअनुसार सबै सूचीकृत कम्पनीहरूमा यस्तो सुविधा उपलब्ध हुने छैन। मार्जिन सुविधाका लागि कम्पनीको कम्तीमा २५ लाख कित्ता सेयर सर्वसाधारणमा जारी भई नेप्सेमा सूचीकृत हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ। 

साथै सम्बन्धित कम्पनीको खुद सम्पत्ति अर्थात् नेटवर्थ चुक्ता पुँजीभन्दा बढी हुनुपर्ने र पछिल्लो ३ वर्षमध्ये कम्तीमा २ वर्ष खुद नाफा कमाएको हुनुपर्ने सर्त राखिएको छ। 

साधारण सेयर निष्कासन र सूचीकरण भई  कम्तीमा २ वर्ष पूरा भएका कम्पनी मात्र यसका लागि योग्य हुनेछन् र नेप्सेले प्रत्येक आर्थिक वर्ष समाप्त भएको सात महिनाभित्र यस्ता योग्य कम्पनीका सूची अद्यावधिक गरी सार्वजनिक गर्नेछ।

लगानीकर्ताले मार्जिन कारोबार गर्दा खरिद रकमको न्यूनतम ३० प्रतिशत रकम प्रारम्भिक मार्जिनका रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ। न्यूनतम २० प्रतिशत सम्भार मार्जिन कायम राख्नुपर्ने र यदि सेयरको मूल्य घटेर सो सीमाभन्दा तल आएमा ब्रोकरले लगानीकर्तालाई थप रकम जम्मा गर्न मार्जिन कल गर्नेछन्। 

ब्रोकर कम्पनीहरूले आफ्नो नेटवर्थको अधिकतम ५ गुणासम्म मात्र मार्जिन सुविधा उपलब्ध गराउन पाउने सीमा तोकिएको छ भने एक ग्राहकलाई आफ्नो प्रमाणित नेटवर्थको ५ प्रतिशतभन्दा बढी मार्जिन सुविधा दिन पाइने छैन।

मार्जिन कारोबार सुविधा उपलब्ध गराउन चाहने धितोपत्र ब्रोकर कम्पनीको चुक्ता पुँजी न्यूनतम २० करोड रुपैयाँ हुनुपर्ने सर्त कार्यविधिमा उल्लेख छ। साथै त्यस्ता ब्रोकरले राफसाफ सदस्यको सदस्यता प्राप्त गरेको र निक्षेप सदस्यको रूपमा काम गरिरहेको हुनुपर्नेछ। 

कारोबार सदस्यले यस कार्यप्रक्रियाको प्रतिकूल हुने गरी लगानीकर्ताको अहित हुने कार्य गरेको नेप्सेको छानबिन तथा सुपरीवेक्षणबाट ठहर भएमा कारोबार सदस्यलाई प्रदान गरिएको मार्जिन कारोबार सुविधा उपलब्ध गराउने अनुमतिपत्र स्थगन वा खारेज हुन सक्नेछ।

कार्यविधि पारित भए पनि दोस्रो बजारमा यो सेवा तत्काल सुरु हुन भने केही समय लाग्ने देखिएको छ। नेप्सेले अझै पनि मार्जिन कारोबारका लागि योग्य कम्पनीहरूको आधिकारिक सूची सार्वजनिक गरिसकेको छैन भने लगानीकर्ताका लागि आवश्यक मार्जिन कारोबार खाता र हितग्राही खाता व्यवस्थापनका लागि प्राविधिक प्रणाली पूर्ण रूपमा तयार भइसकेको छैन।

यस नयाँ व्यवस्थाले आगामी दिनमा बजारमा तरलता बढाउन र ठूला लगानीकर्तालाई थप लगानीका लागि प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।


प्रकाशित : बिहीबार , चैत १२ २०८२१५:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend