काठमाडाैं- कालिन्चोक हाइड्रोपावर लिमिटेडले आगामी चैत २२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक सेयर आईपीओ निष्कासन गर्ने भएको छ।
स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि यसअघि नै सेयर बाँडफाँट गरिसकेको कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गर्ने भएको हो।
कुल ५५ करोड रुपैयाँ जारी पुँजी रहेको यस कम्पनीले १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। सोमध्ये आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरूलाई छुट्याइएको सेयर बाँडफाँट भइसकेको छ।
कम्पनीले दोस्रो चरणमा ४१ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १६ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित राखी बाँकी रहेको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ६ करोड ८४ लाख ७५ हजार रुपैयाँबराबरको ६ लाख ८४ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यो निष्कासन छिटोमा चैत २५ गते र ढिलोमा २०८३ वैशाख ६ गते बन्द हुनेछ। केयर रेटिङ नेपालले यस कम्पनीलाई केयरएनपी डबल बी रेटिङ दिएको छ। जसले लगानीमा मध्यम जोखिम रहेको देखाउँछ।
आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड बिक्री प्रबन्धक रहेको यस आईपीओमा मेरो सेयर एप वा आस्बा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत सहजै आवेदन दिन सकिनेछ।