काठमाडाैं- सानिगाड हाइड्रो लिमिटेडले चैत ८ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिने आज चैत ११ गते अन्तिम दिन रहेको छ।
कम्पनीले आफ्नो कुल २ अर्ब ८५ करोड रुपैयाँ जारी पुँजीको ३० प्रतिशत अर्थात् ८५ करोड ५० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने अनुमति पाएकोमा पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरूका लागि आवेदन आह्वान गरेको हो।
जसअन्तर्गत आयोजनाबाट अति प्रभावित बझाङ जिल्लाको बुंगल नगरपालिका वडा नं. १, २ र ४ का बासिन्दाका लागि १८ लाख ५२ हजार ५०० कित्ता र सोही नगरपालिकाका अन्य वडाहरूका लागि ९ लाख ९७ हजार ५०० कित्ता गरी कुल २८ लाख ५० हजार कित्ता सेयर छुट्याइएको छ। साथै, सर्वसाधारणका लागि निर्धारित कोटाबाट १० प्रतिशत अर्थात् ५ लाख ७० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूका लागि सुरक्षित गरिएको छ।
यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदन दिने अवधि छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म तोकिएको छ भने स्थानीय बासिन्दाका लागि छिटोमा चैत २२ र ढिलोमा २०८३ वैशाख ७ गतेसम्मको समय सीमा निर्धारण गरिएको छ। इक्रा नेपालले यो निष्कासनलाई 'इक्रएनपी इस्यूअर रेटिङ डबल बी माइनस' प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।
कम्पनीले बझाङमा ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत आयोजना निर्माण गरिरहेको छ, जसको कुल लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ रहेको छ। प्रतिमेगावाट २२ करोड ५८ लाख रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.२५ वर्ष र डिस्काउण्टेड फिर्ता अवधि १४.६९ वर्ष रहेको छ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले रहेकाे छ। स्थानीय बासिन्दाले लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका बझाङस्थित शाखाहरूबाट आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेकाहरूले सि-आस्बा प्रणालीमार्फत सहजै आवेदन दिन सक्नेछन्।