काठमाडाैं- गरिमा क्यापिटल लिमिटेडले निष्कासन गरेको आफ्नो पहिलो खुलामुखी योजना 'गरिमा सुवर्ण योजना' को इकाइ खरिद गर्ने आज चैत ११ गते अन्तिम दिन रहेको छ।
गत फागुन २८ गतेदेखि बिक्रीमा ल्याइएको यस योजनामा इच्छुक लगानीकर्ताहरूले आज बैंकिङ समयभित्र आवेदन दिइसक्नुपर्नेछ। कूल १ अर्ब रुपैयाँ आकारको यस योजनाअन्तर्गत पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई निष्कासन गरिएको हो।
यस निष्कासनमा कूल इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवर्धक गरिमा विकास बैंक र योजना व्यवस्थापक गरिमा क्यापिटलका लागि सुरक्षित गरिएको छ भने बाँकी ३ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ। प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य रहेको यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ देखि अधिकतम ५० लाख इकाईसम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ।
खुलामुखी योजना भएकाले यो प्रारम्भिक निष्कासन सकिएपछि बाँकी रहेका इकाईहरू सामूहिक लगानी कोष नियमावली अनुसार योजना व्यवस्थापकले तोकेको केन्द्रहरूबाट नियमित रूपमा खरिद-बिक्री गर्न सकिनेछ।
यस योजनामा सहभागी हुन चाहनेले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयरको वेब वा मोबाइल एपमार्फत सहजै आवेदन दिन सक्नेछन्। गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यस योजनाको निष्कासन तथा बिक्री प्रबन्धकमा गरिमा क्यापिटल लिमिटेडले रहेकाे छ।