शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

लगातार १६१ अंकले बढेको सेयर बजार ३००० को बिन्दुतर्फ

मंगलबार, चैत १० २०८२
लगातार १६१ अंकले बढेको सेयर बजार ३००० को बिन्दुतर्फ

बजार फेरि ३००० को मनोबैज्ञानिक बिन्दु पार गर्नेतर्फ लागेको छ। अहिले बजारको अवस्था यकिन आँकलन गर्न नसकिने भए पनि वृद्धितर्फ लाग्न सबै कुरा सकारात्मक देखिएको विश्लेषकहरू बताउँछन्।

काठमाडौं- सेयर बजार लगातार १६१.५३ अंकले बढेको छ। साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से परिसूचक २३.८३ अंकले बढेर २९६०.४० बिन्दुमा पुगेको छ। 

यो साता पहिलो कारोबारमा आइतबार बजार ५४.५१ अंकले बढेको थियो भने सोमबार उतारचढावबीच ५.०१ अंकले बढेको थियो। बजार गएको साताको अन्तिम कारोबारमा बिहीबार ६४.६७ अंक बढेको थियो। गएको साता नै मंगलबार १३.५१ अंक बढेको बजार त्यसयता लगातार उचाइतर्फ लागेको हो। 

आज मंगलबारकाे कारोबारमा ३ सय ४१ कम्पनीको ३ करोड ५८ लाख २२ हजार १ सय ९१ कित्ता सेयर १ लाख २६ हजार ९ सय ४७ पटक किनबेच हुँदा १४ अर्ब ८३ करोड ९१ लाख ८३ हजार ६ सय ४३ रुपैयाँको कारोबार भएको छ।

आज सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ३९ प्रतिशत, फ्लोट इण्डेक्स शून्य दशमलव ४५ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य दशमलव ४७ प्रतिशतले बढेको छ।

आज सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।                         
कारोबार रकमका आधारमा सबैभन्दा धेरै राधी विद्युत कम्पनीको ६७ करोड ४३ लाख ८४ हजार, अपी पावर कम्पनीको ५७ करोड ८७ लाख ४९ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। 

१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९.१२ प्रतिशत बढेको छ।

यो साता नेप्से परिसूचक लगातार बढिरहेको छ। साताको पहिलो कारोबारमा आइतबार ५४.५१ अंकले बढेर बजार २९३१.५६ बिन्दुमा पुगेको थियो भने सोमबार नेप्से परिसूचक ५.०१ अंकले बढेर २९३६.५६ बिन्दुमा पुगेको थियो।

गएको साता समग्रमा ५६.५६ अंकले बढेको सेयर बजारमा यो साता पहिलो कारोबारदेखि नै उछाल आएको छ। नयाँ सरकार आउने तयारी भइरहँदा पुँजी बजारमा लगानीकर्ताहरू विश्वस्त देखिन थालेका छन्।

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९.०३ लाई वृद्धितर्फ लागेर नै पार हुने अपेक्षा लामो समयदेखि थाँति भइरहँदा बजारले नयाँ उचाइतर्फको लय समातिरहेको छ।

गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो।

बजार फेरि ३००० को मनोबैज्ञानिक बिन्दु पार गर्नेतर्फ लागेको छ। अहिले बजारको अवस्था यकिन आँकलन गर्न नसकिने भए पनि वृद्धितर्फ लाग्न सबै कुरा सकारात्मक देखिएको विश्लेषकहरू बताउँछन्।


प्रकाशित : मंगलबार, चैत १० २०८२१५:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend