काठमाडौं- नेपाल बीमा प्राधिकरणले बीमा ऐन र नियामकको निर्देशन पालना नगर्ने आठवटा बीमा कम्पनीहरूलाई कारबाही गरेको छ।
प्राधिकरणको सञ्चालक समितिले निर्देशन उल्लंघन गरेको र सोधिएको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएको भन्दै ती कम्पनीहरूलाई जनही २ लाख रुपैयाँ नगद जरिवाना गर्ने निर्णय गरेको हो।
प्राधिकरणका अनुसार कारबाहीमा पर्नेहरूमा नेपाल रि, हिमालयन रि, नेको इन्स्योरेन्स, एलियन्ट इन्स्याेरेन्स ब्राेकर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, ओरियन्टल इन्स्योरेन्स र हिमालयन लाइफ रहेका छन्। यी कम्पनीहरूले बीमा ऐन अन्तर्गत जारी गरिएका विभिन्न निर्देशन विपरीत कार्य गरेको पाइएपछि प्राधिकरणले स्पष्टीकरण माग गरेको थियो।
कम्पनीहरूबाट प्राप्त लिखित जवाफ सन्तोषजनक नभएपछि ऐनको व्यवस्था अनुसार जरिवाना गर्ने निर्णय लिइएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले बीमा क्षेत्रमा अनुशासन कायम राख्न र नियामकको निर्देशनलाई प्रभावकारी रूपमा लागू गराउन यो कदम चालेकाे हाे।