शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

याम्बालिङ हाइड्रोपावरकाे आईपीओ निष्कासन तथा बिक्री खुला

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत ८ २०८२
याम्बालिङ हाइड्रोपावरकाे आईपीओ निष्कासन तथा बिक्री खुला

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि पहिलो चरणमा सेयर जारी गरेको हो।

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकमा ७.२७ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको याम्बालिङ हाइड्रोपावर लिमिटेडले आज चैत ८ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ। 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि पहिलो चरणमा सेयर जारी गरेको हो। 

कुल ७० करोड रुपैयाँ जारी पुँजी रहेको यस कम्पनीले त्यसको ४० प्रतिशत अर्थात् २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएकोमा अहिले ९ लाख १० हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ।

आयोजनाबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. १ देखि ७ सम्मका बासिन्दाहरूका लागि ७ करोड रुपैयाँ बराबरको ७ लाख कित्ता सेयर छुट्याइएको छ। त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपालीहरूका लागि सुरक्षित गरिएको छ। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने स्थानीयले अधिकतम ७ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेकाहरूले २१ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको यस निष्कासनमा वैदेशिक रोजगारीमा रहेका नेपालीले चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन् भने स्थानीयका लागि छिटोमा चैत २२ र ढिलोमा २०८३ वैशाख ७ गतेसम्मको समय तोकिएको छ।

 केयर रेटिङ नेपालले यस कम्पनीलाई 'केयरएनपी डबल बी माइनस' रेटिङ प्रदान गरेको छ। जसले वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ। याम्बालिङ खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ८७ करोड ११ लाख रुपैयाँ रहेको छ भने यसको लगानी फिर्ता हुने साधारण अवधि १०.७६ वर्ष अनुमान गरिएको छ। 

स्थानीय बासिन्दाले सिन्धु विकास बैंक र कुमारी बैंकका तोकिएका शाखा वा सी-आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् भने विदेशमा रहेका नेपालीले मेरो शेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।


प्रकाशित : आइतबार, चैत ८ २०८२१०:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend