शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

लाभांश दिन नसकेको अपर तामाकोशीले दुई आर्थिक वर्षको साधारण सभा बोलायो

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत ८ २०८२
लाभांश दिन नसकेको अपर तामाकोशीले दुई आर्थिक वर्षको साधारण सभा बोलायो

कम्पनीले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली मा बिहान ११ः३० बजे गर्ने निर्णय गरेको जनाएको छ।

काठमाडौं- अपर तामाकोशी हाइड्रोपावर लिमिटेड ले चैत २९ गते १६औँ र १७औँ संयुक्त वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली मा बिहान ११ः३० बजे गर्ने निर्णय गरेको जनाएको छ।

सभामा सम्बन्धित आर्थिक वर्षहरूको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान विवरण, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू पारित गर्ने कार्यसूची रहेको छ। साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश गरिनेछ। कम्पनीले दुई जना स्वतन्त्र सञ्चालक नियुक्तिको विषयलाई समेत अनुमोदनका लागि सभामा लैजाने भएको छ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २० गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। यसअनुसार चैत १९ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा सहभागिता जनाउन पाउनेछन्।

४५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजना सञ्चालन गरिरहेको कम्पनीले हालसम्म सेयरधनीलाई लाभांश वितरण गर्न सकेको छैन। यद्यपि चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ९९ करोड ६५ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ।

उक्त अवधिसम्म कम्पनीको विद्युत बिक्री आम्दानी ६ अर्ब ७ करोड रुपैयाँभन्दा बढी पुगेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७१ पैसा तथा प्रतिसेयर नेटवर्थ ५० रुपैयाँ ४ पैसा रहेको छ।


प्रकाशित : आइतबार, चैत ८ २०८२०८:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend