शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

कर्जा असुलीमा सुधार, बैंकिङ क्षेत्र लयमा फर्किँदै, केही बैंक भने अझै दबाबमा

शुक्रबार, चैत ६ २०८२
कर्जा असुलीमा सुधार, बैंकिङ क्षेत्र लयमा फर्किँदै, केही बैंक भने अझै दबाबमा

गैरबैंकिङ सम्पत्ति (धितो सकार) घट्दो क्रममा रहनु र कर्जा अपलेखन सीमित रहनुले पनि कर्जा गुणस्तर क्रमशः सुदृढ बन्दै गएको संकेत गर्छ।

काठमाडौं- केही समयअघिसम्म उच्च जोखिम, कमजोर असुली र बढ्दो गैरबैंकिङ सम्पत्तिको दबाबमा रहेको बैंकिङ क्षेत्र अब क्रमशः सुधारको दिशामा अघि बढ्न थालेको छ। नेपाल राष्ट्र बैंकका पछिल्ला तथ्यांकहरूले कर्जा असुलीमा देखिएको सुधारसँगै वित्तीय प्रणाली लयमा फर्कन थालेको संकेत दिएका छन्।

ऋणीहरूको भुक्तानी क्षमता र अनुशासनमा आएको सुधारले बैंकहरूको कर्जा नोक्सानी व्यवस्थापनमा सहजता ल्याएको छ। विगतमा जोखिमको रूपमा वर्गीकृत कर्जाबाट समेत फिर्ता हुन थालेको रकम (राइट-ब्याक) बढ्दा बैंकहरूको नाफा सुधारमा टेवा पुगेको छ।

गैरबैंकिङ सम्पत्ति (धितो सकार) घट्दो क्रममा रहनु र कर्जा अपलेखन सीमित रहनुले पनि कर्जा गुणस्तर क्रमशः सुदृढ बन्दै गएको संकेत गर्छ।

अर्थतन्त्रमा गतिविधि विस्तार र कर्जाको मागमा देखिएको सामान्य सुधारले असुली प्रक्रियालाई थप सहज बनाएको छ। केन्द्रीय बैंकले गरेका नीतिगत सहजीकरणहरूले बजारमा विश्वास पुनःस्थापित गर्न सहयोग पुर्‍याएको छ।

चालु आर्थिक वर्षको माघसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीमा उल्लेख्य सुधार देखिएको छ। यस अवधिमा जोखिम व्यवस्थापनका लागि छुट्याउनुपर्ने नोक्सानी व्यवस्था घटेको मात्र होइन विगतमा गरिएको यस्तो व्यवस्थाबाट फिर्ता हुने रकममा पनि उल्लेख्य वृद्धि भएको छ। माघसम्म कुल ६४ अर्ब ३५ करोड रुपैयाँ नोक्सानी व्यवस्था गरिएको छ।

कर्जाको प्रकृतिअनुसार विश्लेषण गर्दा विशेष कर्जामा नोक्सानी व्यवस्था करिब ३ प्रतिशतले बढेको देखिए पनि सामान्य र वाचलिस्ट कर्जामा क्रमशः ०.७ प्रतिशत र १.९७ प्रतिशतले गिरावट आएको छ। समग्र कर्जा नोक्सानी व्यवस्था भने पुसको तुलनामा माघमा २.२५ प्रतिशतले वृद्धि भएको देखिन्छ।

बैंकहरूको वित्तीय स्वास्थ्य सुधारमा कर्जा नोक्सानीबाट हुने ‘राइट-ब्याक’ (फिर्ता रकम) ले महत्वपूर्ण योगदान पुर्‍याएको छ। माघसम्म यस्तो फिर्ता रकम ३२ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ, जुन पुससम्म ३१ अर्ब ६५ करोड रुपैयाँ थियो। यो रकम सिधै नाफामा गणना हुने भएकाले बैंकहरूको नाफा वृद्धि गर्न यसले टेवा दिएको छ।

यस्तै, गैरबैंकिङ सम्पत्ति (धितो सकार गरी राखिएको सम्पत्ति) पनि घट्दो क्रममा देखिएको छ। माघसम्म यस्तो सम्पत्ति ५१ अर्ब २० करोड रुपैयाँमा झरेको छ, जुन पुसको तुलनामा ०.१५ प्रतिशतले कम हो। यसले कर्जा असुली प्रक्रिया क्रमशः प्रभावकारी बन्दै गएको संकेत गर्छ।

अर्थतन्त्रमा गतिविधि विस्तारसँगै कर्जाको मागमा पनि सामान्य सुधार देखिएको छ। माघसम्म वित्तीय क्षेत्रबाट निजी क्षेत्रमा २ खर्ब २१ अर्ब रुपैयाँ कर्जा थप प्रवाह भएको छ। अधिक तरलताको समस्या पूर्ण रूपमा समाधान नभए पनि नीतिगत सहजीकरण र बजारमा देखिएको सुधारले कर्जा प्रवाहलाई गति दिन थालेको विश्लेषण गरिएको छ।

कर्जा अपलेखनको अवस्था भने अझै सीमित दायरामै रहेको छ। माघसम्म बैंक तथा वित्तीय संस्थाले १ अर्ब १५ करोड रुपैयाँ कर्जा अपलेखन गरेका छन्, जुन पुससम्म १ अर्ब १३ करोड रुपैयाँ थियो।

नाफातर्फ भने उल्लेख्य सुधार देखिएको छ। माघसम्म बैंक तथा वित्तीय संस्थाले कुल ४२ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्, जुन पुसको तुलनामा २२.२६ प्रतिशतले बढी हो। पुससम्म यस्तो नाफा ३४ अर्ब ८० करोड रुपैयाँ थियो।

उपसमूहगत रूपमा वाणिज्य बैंकहरूले ३८ अर्ब १ करोड रुपैयाँ नाफा कमाएका छन् भने विकास बैंकहरूले ४ अर्ब ९ करोड रुपैयाँ र वित्त कम्पनीहरूले ४३ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

गैरबैंकिङ सम्पतिको अवस्था कस्तो छ?

समीक्षा अवधिमा केही वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति घटेको देखिए पनि अधिकांश बैंकहरूमा वृद्धि भएको छ। हिमालयन बैंक मा सबैभन्दा बढी ६ अर्ब ९ करोड ९८ लाख रुपैयाँ बराबरको यस्तो सम्पत्ति थुप्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३५.९४ प्रतिशतले बढी हो।

त्यसैगरी ग्लोबल आइएमई बैंक मा ५ अर्ब ९९ करोड ४ लाख रुपैयाँ र प्राइम कमर्सियल बैंक मा ४ अर्ब ४० करोड ५४ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ। यी बैंकहरूमा क्रमशः २.१९ प्रतिशत र ११७.५६ प्रतिशतले वृद्धि भएको देखिन्छ। सबैभन्दा कम गैरबैंकिङ सम्पत्ति भने नेपाल बैंक मा रहेको छ, जहाँ माघसम्म २२ करोड ९२ लाख रुपैयाँ मात्र यस्तो सम्पत्ति रहेको छ।

वाणिज्य बैंकहरूको गैर-बैंकिङ सम्पत्ति (१० लाखमा)

बैंक माघ २०८२ माघ २०८१ परिवर्तन (%)
हिमालयन बैंक ६,०९९.८४ ४,४८७.२३ ३५.९४
ग्लोबल आइएमई बैंक ५,९९०.४० ५,८६१.८३ २.१९
प्राइम कमर्सियल बैंक ४,४०५.४४ २,०२४.९१ ११७.५६
एनआईसी एशिया बैंक ४,२३५.६७ ४,११५.२९ २.९३
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ३,८७९.४५ ३,१००.१२ २५.१४
नबिल बैंक ३,३८९.२३ ३,६६७.६८ -७.५९
कुमारी बैंक २,५०५.१६ २,६५३.२७ -५.५८
लक्ष्मी सनराइज बैंक २,२६४.२१ १,६०३.३५ ४१.२२
एनएमबी बैंक १,८३०.२८ १,१५१.११ ५९.००
प्रभु बैंक १,७९१.९८ १,२५२.८९ ४३.०३
कृषि विकास बैंक १,३३३.९३ १,०१८.६१ ३०.९६
सिटिजन्स बैंक इन्टरनेशनल १,२४९.०८ १,०५७.८१ १८.०८
सानिमा बैंक १,०३३.३९ ७१४.०५ ४४.७२
नेपाल एसबीआई बैंक १,०३०.५८ ३५३.९१ १९१.२०
सिद्धार्थ बैंक ७७२.०४ ७०३.८९ ९.६८
माछापुच्छ्रे बैंक ६०२.०१ ९८०.०२ -३८.५७
एभरेष्ट बैंक ५१३.९४ ५७७.७५ -११.०४
राष्ट्रिय वाणिज्य बैंक २८८.७७ २९७.६५ -२.९८
नेपाल बैंक २२९.२३ २०४.११ १२.३१
स्ट्यान्डर्ड चार्टर्ड बैंक ०.००

 


प्रकाशित : शुक्रबार, चैत ६ २०८२११:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend