काठमाडाैं- बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले चैत १ गतेदेखि निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदन दिने आज अर्थात चैत ५ गते अन्तिम दिन रहेको छ।
कम्पनीले आफ्नो कुल १ अर्ब ४ करोड रुपैयाँ जारी पुँजीको २० प्रतिशत अर्थात २० लाख ८० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ लाख ४ हजार कित्ता सेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा रहेका नेपाली श्रमिकहरूका लागि छुट्याइएको हो।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यस निष्कासनलाई इक्रा नेपालले 'इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।
कम्पनीले हाल १९.८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। जसको कुल लागत ३ अर्ब ८५ करोड ५१ लाख रुपैयाँ भन्दा बढी रहेको छ।
यो आयोजनाको प्रतिमेगावाट लागत करिब १९ करोड ४७ लाख रुपैयाँ रहेको छ भने लगानी फिर्ता हुने साधारण अवधि ५.७८ वर्ष अनुमान छ। सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि लिमिटेडले रहेकाे छ।
आवेदन दिन चाहनेहरूले सी-आस्वा प्रणाली मार्फत वा 'मेरो सेयर' अनलाइन सफ्टवेयर प्रयोग गरी सहजै आवेदन दिन सक्नेछन्।