काठमाडाैं- किशोर-किशोरी तथा युवाहरूमा वित्तीय शिक्षा र साक्षरताको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा मनाइने ‘ग्लोबल मनी विक-२०२६’ को चौधौँ संस्करण आजदेखि नेपालमा पनि सुरु भएको छ।
हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने यस अभियानलाई नेपालमा ‘बचत गरौँ, भविष्य सुरक्षित गरौँ’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको हाे।
अभियानको पहिलो दिन नेपाल राष्ट्र बैंकले नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र सहकारी विभागसँगको सहकार्यमा कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा विभिन्न विद्यालयका कक्षा ८ देखि १० सम्म अध्ययनरत करिब ५०० जना विद्यार्थीको सहभागिता थियो।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले पैसा कसरी कमाउने, कसरी बचत गर्ने र कसरी सदुपयोग गर्ने भन्ने विषयमा परिवारका सदस्यहरूलाई समेत शिक्षित गराउनु आवश्यक रहेको धारणा व्यक्त गरे।
उनले पैसा जुनसुकै पेशामा आबद्ध व्यक्तिका लागि समान रूपमा महत्वपूर्ण हुने भएकाले यसको उचित व्यवस्थापन र सदुपयोगतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
त्यस्तै गभर्नरको कार्यालयका कार्यकारी निर्देशक दयाराम शर्मा पंगेनीले स्वागत मन्तव्य राख्दै पैसाको व्यवस्थापनका बारेमा विद्यार्थीहरूलाई विद्यालयस्तरदेखि नै शिक्षित गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

आगामी चैत ८ गतेसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत नेपाल राष्ट्र बैंकको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धि गर्ने विभिन्न कार्यक्रमहरू तय गरिएका छन्।
यस अवधिमा नेपाल बीमा प्राधिकरण, धितोपत्र बोर्ड, सहकारी विभाग र नेसनल बैंकिङ इन्स्टिच्युटले अलगअलग युवालक्षित कार्यक्रमहरू आयोजना गर्नेछन् भने बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र रेमिट्यान्स कम्पनीहरूले पनि सक्रिय सहभागिता जनाउनेछन्।

अभियानका क्रममा वित्तीय सचेतनामूलक अन्तरक्रिया, प्रतियोगिता, सामाजिक सञ्जालमार्फत श्रव्यदृश्य सामग्रीको प्रसारण र विद्यार्थीहरूलाई वित्तीय संस्थाको भ्रमण गराउने जस्ता गतिविधिहरू सञ्चालन हुनेछन्।
सन् २०१२ देखि ओईसीडीको संयोजनमा सुरु भएको यो विश्वव्यापी अभियानमा नेपाल सन् २०१३ देखि सहभागी हुँदै आएको छ ।