काठमाडौं- निजी क्षेत्रको आन्तरिक हवाई सेवाप्रदायक श्री एयरलाइन्सले प्रिमियम मूल्यमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारी गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग प्रतिकित्ता २०० रुपैयाँ दरले आईपीओ जारी गर्न अनुमति मागेको छ।
एयरलाइन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा थप १०० रुपैयाँ प्रिमियम जोडेर २०० रुपैयाँ दरमा आईपीओ जारी गर्ने प्रस्ताव गरेको हो। कम्पनीले कुल ६३ लाख कित्ता सेयर निष्कासन गर्न अनुमति मागेको छ, जसको कुल आकार १ अर्ब २६ करोड रुपैयाँबराबर हुने छ।
रेटिङ कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०७७/७८ देखि चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म श्री एयरलाइन्सले १५ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ। उपलब्ध तथ्यांकअनुसार एयरलाइन्सको वार्षिक आम्दानी हरेक वर्ष बढ्दो क्रममा देखिएको छ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामै कम्पनीले २ अर्ब ५७ करोड रुपैयाँ आम्दानी गरेको छ, जसले कम्पनीको व्यवसाय विस्तार हुँदै गएको संकेत गर्छ।
हाल श्री एयरलाइन्ससँग कुल १८ वटा वायुयान रहेका छन्। तीमध्ये फिक्स्ड विङतर्फ ३ वटा जेट विमान र ७ वटा टर्बोप्रोप जहाज रहेका छन्। यसैगरी कम्पनीसँग ८ वटा हेलिकोप्टर पनि सञ्चालनमा छन्, जसमा ६ वटा एमआई सिरिजका हेलिकोप्टर र २ वटा एयरबसका हेलिकोप्टर रहेका छन्।
कम्पनीका मुख्य लगानीकर्ता सुधीर मित्तल हुन्। मित्तलको नाममा कम्पनीको ९९.९८ प्रतिशत सेयर स्वामित्व रहेको छ।
सन् १९९९ मा ‘अनन्या एयर’ नामबाट स्थापना भएको कम्पनीलाई पछि ‘श्री एयरलाइन्स’ नाममा रूपान्तरण गरिएको थियो। सन् २०२३ मा कम्पनी पब्लिक कम्पनीमा रूपान्तरण भएको हो।
हाल श्री एयरलाइन्सले काठमाडौंलाई मुख्य आधार बनाएर धनगढी, सुर्खेत, नेपालगञ्ज, भैरहवा, पोखरा, चितवन र विराटनगरमा नियमित आन्तरिक उडान सञ्चालन गर्दै आएको छ।
साथै कम्पनीले पर्वतीय दृश्यावलोकन (माउन्टेन फ्लाइट) सेवा पनि सञ्चालन गरिरहेको छ। नेपालगञ्जबाट मानसरोवरतर्फ पनि माउन्टेन उडान सञ्चालन गर्दै आएको कम्पनीले हेलिकोप्टरमार्फत चार्टर सेवा समेत प्रदान गर्दै आएको छ।
एयरलाइन्सका अनुसार कम्पनीले हाल दैनिक २२ देखि २५ उडानमार्फत करिब २ हजार यात्रुलाई आन्तरिक सेवा दिइरहेको छ। यात्रु संख्याका आधारमा श्री एयरलाइन्स आन्तरिक उडान बजारमा तेस्रो ठूलो हिस्सा ओगट्ने एयरलाइन्समध्ये एक मानिन्छ।