काठमाडौं- बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज चैत १ गते देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण सेयर आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ।
कम्पनीले आफ्नो कुल १ अर्ब ४ करोड रुपैयाँ जारी पुँजीको २० प्रतिशत अर्थात् २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
जसमध्ये १० करोड ४० लाख रुपैयाँ बराबरको १० लाख ४० हजार कित्ता सेयर स्थानीयका लागि र सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ।
स्थानीयका लागि छुट्याइएको सेयरमध्ये ५ लाख २० हजार कित्ता सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं. २, ३ र ४ का अति प्रभावित बासिन्दालाई, ३ लाख १२ हजार कित्ता सोही नगरपालिकाका वडा नं.५, ६, ७ र ११ का बासिन्दालाई र बाँकी २ लाख ८ हजार कित्ता सोलुखुम्बु जिल्लाका अन्य क्षेत्रका स्थायी बासिन्दालाई बाँडफाँट गरिनेछ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले चैत ५ गतेसम्म छिटोमा र स्थानीयले चैत १५ गतेसम्म छिटोमा आवेदन दिन पाउनेछन्। माग बमोजिम आवेदन नपरेमा स्थानीयका लागि चैत ३० गतेसम्म म्याद रहनेछ।
इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस प्रदान गरेको छ। जसले दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। स्थानीयले एनएमबि बैंक सल्लेरी, लक्ष्मी सनराइज बैंक सल्लेरी, ग्लोबल आइएमई बैंक सोलुखुम्बु र प्राइम कमर्सियल बैंक नेचा सल्यान का शाखाहरूबाट २ रुपैयाँमा फारम लिई आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेकाहरूले भने सि-आस्बा प्रणाली र मेरो सेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।