काठमाडौं- एपोलो हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज चैत १ गते अन्तिम दिन रहेको छ।
कम्पनीले फागुन ११ गतेदेखि निष्कासन खुल्ला गरेको यस सेयरमा मागभन्दा बढी आवेदन परेका कारण चैत १० गतेसम्मको पूर्व निर्धारित समय अगावै निष्कासन बन्द गर्न लागेको हो।
कम्पनीले कुल ५७ करोड रुपैयाँ जारी पूँजीको १० प्रतिशत अर्थात् ४ करोड ७० लाख रुपैयाँ बराबरको ४ लाख ७० हजार कित्ता साधारण सेयर स्थानीयका लागि निष्कासन गरेको थियो। यसमध्ये ५० प्रतिशत अर्थात २ लाख ३५ हजार कित्ता सेयर ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका वडा नं. ७ र ८ का उच्च प्रभावित बासिन्दाका लागि छुट्याइएको छ।
त्यस्तै, ३० प्रतिशत अर्थात १ लाख ४१ हजार कित्ता सोलुखुम्बुको लिखुपिके २ र रामेछापको उमाकुण्ड ३ का मध्यम प्रभावित बासिन्दा तथा बाँकी २० प्रतिशत अर्थात ९४ हजार कित्ता रामेछापको उमाकुण्ड २ र गोकुलगंगा १ का न्यून प्रभावित बासिन्दाका लागि बाँडफाँट गरिनेछ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ४७ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। केयर रेटिङ नेपालले कम्पनीलाई 'केयरएनपी डबल बी माइनस' रेटिङ् दिएको छ। जसले मध्यम जोखिमको संकेत गर्दछ।
हिमालयन क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको यस आयोजनाको प्रतिमेगावाट लागत २२ करोड ८६ लाख ७३ हजार रुपैयाँ रहेको छ। स्थानीयले आयोजना कार्यालय, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र सिटिजन्स बैंकका तोकिएका शाखाबाट २ रुपैयाँ शुल्क बुझाई दरखास्त फारम लिएर आवेदन दिन सक्नेछन्।