काठमाडाैं- वाणिज्य बैंकहरूले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।
जसअनुसार व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर फागुनको तुलनामा केही घटेको देखिएको छ।
फागुन महिनामा ४.५६ प्रतिशत विन्दु रहेको औसत ब्याजदर चैतमा ०.०७ प्रतिशत विन्दुले घटेर ४.४९ प्रतिशतमा झरेको छ। हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये ६ वटाले ब्याजदर घटाएका कारण समग्र औसत दर प्रभावित भएको हो।
बाँकी १४ बैंकहरूले फागुनकै दरलाई यथावत राखेका छन्। संस्थागत मुद्दति निक्षेपतर्फ पनि बैंकहरूले अधिकतम औसत ब्याजदरमा ०.०३ प्रतिशत विन्दुको कटौती गरेका छन्।
यस पटक ब्याजदर घटाउने बैंकहरूमा नेपाल बैंक, स्ट्याण्डर्ड चार्टर्ड, कुमारी, कृषि विकास, प्राइम कमर्सियल र ग्लोबल आइएमई बैंक रहेका छन्।
सबैभन्दा धेरै ब्याजदर घटाउने नेपाल बैंकले व्यक्तिगत मुद्दतिको दर ५.१ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरेको छ। त्यसैगरी ग्लोबल आइएमई बैंकले ४.७५ बाट ४.२५ प्रतिशत, कुमारी बैंकले ४.४३ बाट ४.१२ प्रतिशत, र स्ट्याण्डर्ड चार्टर्डले ४.२५ बाट ४.११ प्रतिशतमा दर झारेका छन्। कृषि विकास बैंक र प्राइम बैंक दुवैले ब्याजदर ४.२५ प्रतिशतबाट घटाएर ४.१५ प्रतिशत निर्धारण गरेका छन्।
अन्य बैंकहरूले भने ब्याजदर परिवर्तन गरेका छैनन्। हिमालयन, राष्ट्रिय वाणिज्य, एनआइसी एशिया र एनएमबी बैंकले व्यक्तिगत मुद्दतिमा सबैभन्दा बढी अर्थात् ५ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएका छन्।
प्रभु र नबिल बैंकको दर ४.५५ प्रतिशत यथावत छ भने माछापुच्छ्रे, सिटिजन्स, लक्ष्मी सनराइज, सानीमा र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४.५ प्रतिशत कायम गरेका छन्। त्यस्तै नेपाल एसबिआई, एभरेष्ट र सिद्धार्थ बैंकले ४.२५ प्रतिशतकै पुरानो दरमा ब्याज दिने भएका छन्।