काठमाडाैं- सोपान फर्मास्यूटिकल्स लिमिटेडले आगामी चैत ९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।
कम्पनीले आफ्नो कुल १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ जारी पुँजीको २५ प्रतिशत अर्थात् ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता सेयर बिक्री गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता सेयर छुट्याइएको छ।
यसबाहेक कम्पनीले सामूहिक लगानी कोषका लागि ५ प्रतिशत र कर्मचारीहरुका लागि ४ प्रतिशत सेयर सुरक्षित गरेको छ भने बाँकी रहेको ३४ लाख ७४ हजार ९०० कित्ता शेयर पछि सर्वसाधारणका लागि निष्कासन गरिनेछ।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेकाहरुले चैत १२ गतेसम्म आवेदन दिन पाउनेछन् भने माग बमोजिम आवेदन नपरेमा यो अवधि चैत २३ गतेसम्म लम्बिन सक्नेछ।
एनएमबि क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको यस आईपीओमा सी-आस्बा प्रणालीमार्फत 'मेरो सेयर' अनलाइन वा तोकिएका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिन्छ।
केयर रेटिङ नेपालले कम्पनीलाई 'केयरएनपी बी' रेटिङ दिएको छ।जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ।
कम्पनीको वित्तीय सूचक अनुसार लगानी फिर्ता हुन ८.११ वर्ष लाग्ने देखिएको छ भने यसको आन्तरिक प्रतिफल दर २३.६३ प्रतिशत रहेको छ।