काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेपमा सुधार देखिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सात महिनाको तथ्यांकअनुसार निक्षेप ६ प्रतिशत अर्थात ४ खर्ब ३३ अर्ब ७१ करोडले वृद्धि भइ ७६ खर्ब ९७ अर्ब ५९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निक्षेप ३.८ प्रतिशतले बढेको थियो।
निक्षेपतर्फ हेर्दा २०८२ माघ मसान्तसम्म कुल निक्षेपमा बचत निक्षेपको अंश ४२.८ प्रतिशत र मुद्दती निक्षेपको अंश ४१.६ प्रतिशत कायम भएको छ। अघिल्लो वर्ष मुद्दती निक्षेपको अंश ५२.४ प्रतिशत रहेकोमा यस वर्ष त्यसमा कमी आइ तरलताको प्रकृतिमा फेरबदल भएको देखिन्छ। संस्थागत निक्षेपको अंश भने गत वर्षको ३५.३ प्रतिशतबाट झरेर ३४.३ प्रतिशतमा खुम्चिएको छ।
कर्जा प्रवाह भने केही सुस्त देखिएको छ। समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४ प्रतिशत अर्थात् २ खर्ब २१ अर्ब ८४ करोडले बढेर ५७ खर्ब १९ अर्ब ५४ करोड पुगेको छ।
गत वर्षको सोही अवधिमा कर्जा विस्तार दर ५.६ प्रतिशत रहेको थियो। प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ ६२.६ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३७.४ प्रतिशत कर्जा प्रवाह भएको छ। बैंकगत आधारमा हेर्दा वाणिज्य बैंकहरूको कर्जा प्रवाह ४.२ प्रतिशतले बढ्दा विकास बैंकको ३.० प्रतिशत र वित्त कम्पनीहरूको १.८ प्रतिशतले वृद्धि भएको छ।
लगानीको क्षेत्रगत विवरण हेर्दा उपभोग्य क्षेत्रतर्फ १०.६ प्रतिशत र निर्माण क्षेत्रमा ८.७ प्रतिशतले कर्जा बढेको छ। त्यस्तै यातायात तथा सञ्चारमा ६.८ प्रतिशत र औद्योगिक उत्पादनमा ४.८ प्रतिशतको वृद्धि देखिन्छ।
कृषि क्षेत्रतर्फको कर्जा १.४ प्रतिशत र वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा १.९ प्रतिशतले घटेको छ। कर्जाको प्रकार अनुसार ट्रष्ट रिसिट (आयात) कर्जामा १६.२ प्रतिशत र मार्जिन प्रकृतिको कर्जामा ११.० प्रतिशतको उच्च वृद्धि देखिएको छ भने अधिविकर्ष (ओभरड्राफ्ट) कर्जामा ३.४ प्रतिशतले गिरावट आएको छ।
सुरक्षणका आधारमा बैंकहरूको कुल कर्जाको ६३.८ प्रतिशत हिस्सा अझै पनि घरजग्गा धितोमै केन्द्रित रहेको छ। गत वर्षको तुलनामा यो सामान्य घटेको भए तापनि बैंकहरूको ठूलो लगानी घरजग्गामै सुरक्षित रहेको छ।