शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

चालु खाता र शोधनान्तर स्थिति उत्साहजनक, विदेशी विनिमय सञ्चिति २२ अर्ब ७६ करोड डलर

बुधबार, फागुन २७ २०८२
चालु खाता र शोधनान्तर स्थिति उत्साहजनक, विदेशी विनिमय सञ्चिति २२ अर्ब ७६ करोड डलर

काठमाडौं- आर्थिक वर्ष २०८२/८३ को सात महिनाको तथ्यांकअनुसार नेपालको चालु खाता र शोधनान्तर दुवै स्थिति सकारात्मक देखिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति ३३ खर्ब २ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यो सञ्चिति २२ अर्ब ७६ करोड रहेको छ। हालको सञ्चिति १८ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।

बाह्य क्षेत्रतर्फ चालु खाता ४ खर्ब ९३ अर्ब ७८ करोड रुपैयाँ र शोधनान्तर स्थिति ५ खर्ब ७२ अर्ब ७३ करोड रुपैयाँ बचतमा रहेको छ।

उपभोक्ता मूल्य सूचकांक आधारित वार्षिक बिन्दुगत मुद्रास्फीति ३.२५ प्रतिशतमा सीमित रहेको छ।

विप्रेषण आप्रवाह पनि उल्लेखनीय रूपमा बढेको छ। नेपाली रुपैयाँमा ३९.८ प्रतिशत तथा अमेरिकी डलरमा ३३ प्रतिशतले विप्रेषण बढेको छ। चालु आर्थिक वर्षको माघ महिनामा मात्रै १ खर्ब ९८ अर्ब ८ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ।

व्यापारतर्फ निर्यात ३२.२ प्रतिशतले बढ्दा आयात १३.६ प्रतिशतले वृद्धि भएको छ।

सरकारी वित्ततर्फ नेपाल सरकारको कुल खर्च ८ खर्ब १ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ भने राजस्व परिचालन ६ खर्ब ६५ अर्ब २ करोड रुपैयाँ रहेको छ।

मौद्रिक सूचकहरू पनि बढ्दो प्रवृत्तिमा छन्। विस्तृत मुद्राप्रदाय ५.९ प्रतिशतले बढेको छ भने वार्षिक बिन्दुगत आधारमा यसको वृद्धि १४.२ प्रतिशत पुगेको छ।

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन ६ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत तथा निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.८ प्रतिशत रहेको छ।

बैंकिङ क्षेत्रको ब्याजदर पनि तुलनात्मक रूपमा न्यून देखिएको छ। बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत रहेको छ भने ९१ दिन अवधिको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.४५ प्रतिशत रहेको छ।

यस्तै वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.५१ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।


प्रकाशित : बुधबार, फागुन २७ २०८२१७:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend