शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

गति लिँदै सेयर बजार, नाफा बुक गर्नेहरू बढे

बुधबार, फागुन २७ २०८२
गति लिँदै सेयर बजार, नाफा बुक गर्नेहरू बढे

निर्वाचनपछिको पहिलो कारोबार दिन सोमबार तीन पटक सकारात्मक सर्किट ब्रेक लागेर १६२‍.९४ अंकले बढेको बजारमा दोस्रो दिन मंगलबार भने केही फरक देखियो।

काठमडाैं- प्रतिनिधि सभा निर्वाचनको नतिजा आएसँगै पुँजी बजारमा उत्साह देखिएको छ। निर्वाचनपछिको पहिलो कारोबार दिन सोमबार तीन पटक सकारात्मक सर्किट ब्रेक लागेर १६२‍.९४ अंकले बढेको बजार दोस्रो दिन कारोबार रकमका कारण उत्साहमा रह्यो। 

मंगलबार नेप्से परिसूचक ३२ अंकले ओरालो लागे पनि कारोबार रकमले भने पछिल्लो ८ महिनायताकै उच्च बिन्दु कायम गरेको छ। दिनभरमा २१ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको सेयर खरिद-बिक्री भएको छ। जसलाई बजार लगानीकर्ताको सक्रियता र बजारप्रतिको बढ्दो विश्वासको रूपमा लिन सकिन्छ।

लामो समयदेखि स्थिर रहेको बजारमा निर्वाचनको नतिजाले नयाँ गति लियो। विशेषगरी पुराना दलहरूको विकल्पमा नयाँ शक्तिलाई प्राप्त म्यान्डेटले देशको आर्थिक संरचनामा सुधार र सुशासन आउने अपेक्षामा लगानीकर्ताहरू हौसिएका छन्।

यसअघि राजनीतिक अस्थिरताका कारण पर्ख र हेरको अवस्थामा रहेका ठूला तथा संस्थागत लगानीकर्ताहरू समेत अहिले आक्रामक रूपमा बजारमा फर्किएका छन्।

सेयर बजारका जानकार जगन्नाथ ढुंगेलका अनुसार सोमबार सुरुमै सर्किट ब्रेक लागेका कारण धेरै लगानीकर्ताले खरिद-बिक्री गर्न पाएका थिएनन्। सोही कारण मंगलबार लगानीकर्ताहरूले सक्रियतापूर्वक कारोबार गरेका हुन्।

ढुंगेलका अनुसार निर्वाचन अगाडि कम मूल्यमा सेयर खरिद गरेका लगानीकर्ताहरूले नाफा सुरक्षित गर्न थालेकाले नेप्से सूचक घटे पनि कारोबार रकममा भने उछाल आएको हो।

त्यस्तै नेपाल इन्भेष्टर फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियार राजनीतिक स्थिरताले ब्याजदरमा सहजता र बैंकिङ प्रणालीमा तरलता बढ्ने बताउँछन्। उनले भने, 'आज नाफा बुक गरेकाले नेप्से घटे पनि कारोबार बढ्यो। स्थिर सरकार आएपछि नेप्से परिसूचकसँगै कारोबार रकम अझै बढ्नेछ।'

बजारको आगामी दिशा अब बन्ने सरकारको नीति र राजनीतिक स्थिरतामा निर्भर रहने देखिएको छ। स्थिर नीतिगत व्यवस्था र विकास निर्माणका कार्यले गति लिएमा अर्थतन्त्र चलायमान हुने र त्यसको प्रत्यक्ष सकारात्मक प्रभाव सेयर बजारमा पर्ने निश्चित छ।

अहिलेको उच्च कारोबारले लगानीकर्ताहरू बजार बढ्नेमा विश्वस्त रहेको र अब बन्ने नयाँ सरकारले थप पुँजी बजारमैत्री नीति ल्याएमा नेप्सेले नयाँ उचाइ लिने विश्लेषण गरिएको छ।


प्रकाशित : बुधबार, फागुन २७ २०८२०७:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend