काठमाडौं- एपोलो हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि फागुन ११ गतेदेखि निष्कासन गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ।
कम्पनीका अनुसार अब स्थानीय बासिन्दाहरूले आगामी चैत १० गतेसम्म यस आईपीओमा आवेदन दिन सक्नेछन्। कम्पनीले आफ्नो कूल ५७ करोड रुपैयाँ जारी पुँजीको ३० प्रतिशत अर्थात् १४ करोड १० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने अनुमति पाएकोमा हाल पहिलो चरणमा आयोजना प्रभावितका लागि ४ करोड ७० लाख रुपैयाँ बराबरको ४ लाख ७० हजार कित्ता साधारण सेयर बिक्री खुला गरेको हो।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ। इच्छुक स्थानीय बासिन्दाहरूले एपोलो हाइड्रोपावरको आयोजना कार्यालय ओखलढुङ्गा, लक्ष्मी सनराइज बैंकको किन्जा, शिवालय र प्रिति शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको खिजीदेम्वा शाखा तथा सिटिजन्स बैंकको लिखुपिके शाखाबाट आवेदन दिन सक्नेछन्। आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्ने व्यवस्था गरिएको छ।