शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

राष्ट्र बैंकमा डेपुटी गभर्नर रिक्त, नियुक्ति कहिले?

सोमबार, फागुन २५ २०८२
राष्ट्र बैंकमा डेपुटी गभर्नर रिक्त, नियुक्ति कहिले?

आज सोमबारदेखि नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले अनिवार्य अवकाश लिँदैछन्। उनीहरूको कार्यकाल सकिँदै गर्दा राष्ट्र बैंकमा डेपुटी गभर्नर पद रिक्त हुने भएको छ तर नयाँ नियुक्ति प्रक्रिया अहिलेसम्म सुरु भएको छैन।

काठमाडौं- आज सोमबारदेखि नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले अनिवार्य अवकाश लिँदैछन्। उनीहरूको कार्यकाल सकिँदै गर्दा राष्ट्र बैंकमा डेपुटी गभर्नर पद रिक्त हुने भएको छ तर नयाँ नियुक्ति प्रक्रिया अहिलेसम्म सुरु भएको छैन।

निर्वाचन आचारसंहिताका कारण सरकारले नयाँ नियुक्ति प्रक्रिया अघि बढाउन नसकेको हो। अर्थमन्त्री रामेश्वर खनालले राष्ट्र बैंकमा डेपुटी गभर्नर नियुक्ति प्रक्रिया अघि बढाउन निर्वाचन आयोगसँग परामर्श गरेका थिए तर विवादमा पर्न सक्ने जोखिम देखिएपछि उनी प्रक्रिया अघि बढाउन पछि हटेका थिए। अब नयाँ सरकारलाई जिम्मेवारी दिने योजना बनाएका छन्।

राष्ट्र बैंक ऐनअनुसार कार्यकारी निर्देशकहरूमध्ये तीन योग्य व्यक्तिलाई गभर्नरले डेपुटी गभर्नरको लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ। सिफारिस सूची अर्थ मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पेस गरिन्छ र मन्त्रिपरिषद्ले तीनमध्ये दुईजनालाई नियुक्ति गर्ने प्रावधान छ। डेपुटी गभर्नरहरू भविष्यमा गभर्नर बन्ने उम्मेदवारको रूपमा पनि प्रतिस्पर्धी हुने भएकाले नियुक्ति प्रक्रिया मन्त्रीपरिषद्ले ‘चासोपूर्वक’ गर्ने गरेको देखिन्छ।

डेपुटी गभर्नर राष्ट्र बैंकको सञ्चालक समिति सदस्य हुने व्यवस्था छ। पदमा नियुक्तिका लागि केन्द्रीय बैंकका विशिष्ट श्रेणीका अधिकृतहरूमध्ये कार्यक्षमताका आधारमा रिक्त पदको दोबर संख्यामा नामावली सिफारिस गर्नुपर्ने भए पनि अभ्यासअनुसार मन्त्रिपरिषद्मा तीनजनाको नाममात्र सिफारिस हुने गरेको छ।

डेपुटी गभर्नर पदका लागि नेपाली नागरिक हुनु, उच्च नैतिक चरित्र हुनु, अर्थ, मौद्रिक, बैंकिङ, वित्तीय वा वाणिज्य व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुनमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कार्य अनुभव हुनु आवश्यक छ।

राष्ट्र बैंकभित्रका विभिन्न विभागका कार्यकारी निर्देशकहरू डेपुटी गभर्नरको दौडाहामा छन्। बैंक तथा वित्तीय संस्था नियमन विभागका रामु पौडेल, आर्थिक अनुसन्धान विभागका डा. रामशरण खरेल र बैंक सुपरिवेक्षण विभागका दीर्घबहादुर रावल मुख्य प्रतिस्पर्धी मानिएका छन्।

त्यस्तै लघुवित्त वित्तीय संस्था सुपरिवेक्षण विभागका नरेश शाक्य, सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका रेवतीप्रसाद नेपाल, वित्तीय संस्था सुपरिवेक्षण विभागका विश्रुत थापा, गभर्नरको कार्यालयका कार्यकारी निर्देशक दयाराम शर्मा, मानव संसाधन व्यवस्थापन विभागका गुरुप्रसाद पौडेल, विदेशी विनिमय व्यवस्थापन विभागका किरण पण्डित, भुक्तानी प्रणाली विभागका डा. सत्येन्द्र तिमिल्सिना, गैरबैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभागका चेतप्रसाद उप्रेती पनि प्रतिस्पर्धामा छन्।

बैंकिङ विभागका रोशनकुमार सिग्देल, मौद्रिक व्यवस्थापन विभागका डा. डिल्लीराम पोखरेल, सूचना प्रविधि विभागका निश्चल अधिकारी, मुद्रा व्यवस्थापन विभागका अनुज दाहाल, आन्तरिक लेखा परीक्षण विभागका दीपकराज लमिछाने, कर्पोरेट योजना तथा जोखिम व्यवस्थापन विभागका राजनविक्रम थापा र वित्तीय व्यवस्थापन विभागका राजेन्द्र भट्टराई पनि डेपुटी गभर्नर पदका दाबेदार रहेका छन्।


प्रकाशित : सोमबार, फागुन २५ २०८२०७:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend