काठमाडौं- प्रतिनिधिसभा निर्वाचनअघिको अन्तिम दिनको कारोबारमा सेयर बजार वृद्धितर्फ देखिएको छ।
आज मंगलबार बजार ३८.५२ अंकले बढेर २७१२.४९ बिन्दुमा पुगेको छ। २५४ कम्पनीको सेयर मूल्य बढेको बजारमा ६ अर्ब २३ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ।
यसअघि यो साता पहिलो दिनको कारोबारमा गएको आइतबार बजार १९.२७ अंक बढेर २६७४.२० बिन्दुमा पुगेको थियो।
पछिल्लो समय उतारचढावपूर्ण अवस्थामा देखिएको सेयर बजारमा लगानीकर्ताहरू नयाँ सरकारको पर्खाइमा देखिन्छन्। चुनावी माहोलले बढ्ने अपेक्षा गरिएकोमा अब चुनावी परिणामसँगै बजारको गति तय हुने छ।
आज व्यापार समूह ०. ८४ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। बैंकिङ १.६४, विकास बैंक १. ५९, वित्त १. ४३, होटल तथा पर्यटन १. ६०, जलविद्युत् २.१३ र लगानी समूह ०.५२ प्रतिशतले बढेको छ।
त्यस्तै, उत्पादन तथा प्रशोधन १. ४९, लघुवित्त १. ६६, म्युचुअल फन्ड ०.८२, निर्जीवन बीमा १.११ र अन्य समूह १.०३ प्रतिशतले बढेको छ।
सलपा विकास बैंक लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने शुभम् पावर लिमिटेडको सेयर मूल्य २.३२ प्रतिशतले घटेको छ।
कारोबार रकम र सेयर संख्याको आधारमा आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको ३४ करोड ६५ लाख ३० हजार ३ सय ७९ रुपैयाँबराबरको ९ लाख ३६ हजार ३ सय ४७ कित्ता किनबेच भएको नेप्सेले जनाएको छ।
कस्तो छ सेयर बजारमा चुनावको प्रभाव?
२०५१ सालको चुनावपछि बजार केही अंक घटेको थियो तर २०५६ को चुनावको अगाडि र पछाडि दुवै समयमा बजार बढेको तथ्यांकले देखाउँछ।
२०५६ को जेठमा चुनावी मिति घोषणाअघि र पछि बजार बढेको देखिन्छ। २०५५ को अन्तिमतिर १९० अंकबाट बजार २०६ अंकको बिन्दुसम्म पुगेको थियो। २०५६ मा नेपाली कांग्रेसको बहुमतको सरकार बनेपछि सेयर बजार लगातार बढेर २०५७ मा ५१९.३३ को बिन्दुमा पुगेको थियो। पछि माओवादी द्वन्द्वले ठूलो रूप लिएपछि भने सेयर बजार ओरालो लागेको तथ्यांकले देखाउँछ। २०५८ मा १९८.४४ को बिन्दुमा झरेको नेप्से २०६४ को संविधानसभाको चुनावताका भने उच्च अंकले बढेको थियो।
२०६४ को चुनावभन्दा अगाडि ३५५.६० को बिन्दुमा रहेको नेप्से चुनाव सकिएपछि ६८३.९५ बिन्दुमा पुगेको थियो। माओवादी द्वन्द्वको समाधानसँगै धेरै अनौपचारिक पैसा सेयर बजारमा आएको अनुमान उक्त समयमा गरिएको थियो। जसका कारण घरजग्गा र सेयर बजार दुवैतर्फ २०६४ सालदेखि केही वर्ष उभार आएको थियो।
२०७० मा दोस्रो संविधानसभाको चुनाव अघि र पछि पनि बजार बढेको देखिन्छ। २०७० को चुनाव घोषणाअगाडि ३८९.७४ बिन्दुमा रहेको नेप्से चुनाव घोषणपछि बढ्दै ५१८.३ बिन्दुमा नेप्से पुगेको थियो।
सेयर बजारमा २०७२ असार मसान्तमा ९६१.२३ बिन्दुमा रहेको सूचकांक २०७३ साउन १२ गते ततसमयको उच्च बिन्दु अर्थात १८८१.४५ पुगेको थियो। तर २०७४ को चुनावताका भने नेप्से परिसूचक बढ्न सकेन।
तत्कालीन समय नेकपा माओवादी र नेकपा एमाले गठबन्धनसहित चुनावमा होमिएका थिए। उक्त समयमा झन्डै दुई तिहाइ मतसमेत उक्त गठबन्धनले ल्याएको थियो। उक्त समयमा सेयर बजारलाई चुनावले छुन सकेन। जसका कारण चुनावअगाडि १५२०.२ बिन्दुमा रहेको नेप्से २०७४ फागुनमा पुग्दा १२८६ बिन्दुमा पुगेको थियो।
आर्थिक वर्षमा हेर्दा २०७७/७८ मा २८८३.४१ मा रहेको नेप्से २०७८ भदौ २ मा त अहिलेसम्मकै उच्च ३१९९.०३ बिन्दुसम्म पनि पुगेको थियो।२०७९ को चुनावमा बजारको उल्लास अपेक्षाकृत भएन। बजार १९०० को बिन्दु आसपास तलमाथि गरिरहेको थियो। चुनावी परिणामले सिर्जना गर्नसक्ने सरकार गठनको अन्योलताले सेयर बजारमा प्रभाव परेको थियो। आर्थिक वर्षमा २०७९/८० को अन्त्यमा बजार २०९७.१० बिन्दुमा थियो।