शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

पश्चिम एसियामा भएको सैन्य तनावले एसियाली सेयर बजारमा प्रभाव, कच्चा तेलको मूल्यमा वृद्धि

सोमबार, फागुन १८ २०८२
पश्चिम एसियामा भएको सैन्य तनावले एसियाली सेयर बजारमा प्रभाव, कच्चा तेलको मूल्यमा वृद्धि

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको मृत्यु भएको खबर सार्वजनिक भएलगत्तै इरानले प्रतिआक्रमणको घोषणा गरेको छ। जसले गर्दा यस क्षेत्रको सैन्य तनाव बढेकाे छ।

काठमाडाैं- पश्चिम एसियामा इजरायल र अमेरिकी सेनाले इरानमाथि गरेको पछिल्लो आक्रमणपछि विश्व राजनीति र अर्थतन्त्रमा गम्भीर हलचल पैदा भएको छ। 

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको खबर सार्वजनिक भएलगत्तै इरानले प्रतिआक्रमणसमेत गरिरहेको छ। जसले गर्दा यस क्षेत्रको सैन्य तनाव बढेकाे छ। 

यसका कारण विश्वको सबैभन्दा महत्त्वपूर्ण ऊर्जा मार्ग मानिने होर्मुज मार्ग पूर्णरूपमा ठप्प भएको छ। विश्वको झन्डै २० प्रतिशत कच्चा तेल यही मार्ग भएर ओसारपसार हुने भएकाले अन्तर्राष्ट्रिय बजारमा तेलको अभाव हुने डरले मूल्यमा तीव्र वृद्धि हुन थालेको छ।

युद्धको प्रत्यक्ष र नकारात्मक प्रभाव सोमबार बिहानैदेखि एसियाली वित्तीय बजारमा देखिएको छ। जापानको टोकियो सेयर बजारमा कारोबार सुरु हुनासाथ सूचकांकमा करिब २ प्रतिशतको गिरावट आएको छ।

लगानीकर्ताहरू सेयर बजारमा जोखिम मोल्नुको साटो सुरक्षित विकल्पको खोजीमा लागेका छन्। जसका कारण जापानी सरकारी ऋणपत्रको मागमा सामान्य वृद्धि भएको छ। जापानी मुद्रा येनको मूल्यमा पनि ठूलो उतारचढाव देखिएको छ। विश्वभर सुनको मूल्यमा समेत वृद्धि भइरहेको छ। 

द्वन्द्वका कारण पश्चिम एसियाका विभिन्न देशहरूले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन् भने व्यावसायिक उडानहरू प्रभावित भइरहेका छन्। इरानले आफ्ना लक्ष्यहरूमा जवाफी हमला सुरु गरेसँगै क्षेत्रीय युद्धले झन् ठूलो रूप लिन सक्ने देखिएको छ। 

तेल आपूर्तिमा आउने अवरोधले आगामी दिनमा विश्वभर नै महँगी बढ्ने र यसले समग्र विश्व अर्थतन्त्रलाई नै मन्दीको दिशामा धकेल्न सक्ने चेतावनी विज्ञहरूले दिएका छन्। यो परिस्थिति सुध्रिने संकेत नदेखिँदा विश्वभरका लगानीकर्ताहरूको मनोबल थप कमजोर बन्दै गएको छ।


प्रकाशित : सोमबार, फागुन १८ २०८२१०:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend