शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बेनी हाइड्रोपावरले चैत १ गतेदेखि आईपीओ निष्कासन गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन १५ २०८२
बेनी हाइड्रोपावरले  चैत १ गतेदेखि आईपीओ निष्कासन गर्ने

कम्पनीले आफ्नो कुल १ अर्ब ४ करोड रुपैयाँ जारी पुँजीको २० प्रतिशत अर्थात् २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको हो।

काठमाडौं- बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आगामी चैत १ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सेयर आईपीओ निष्कासन गर्ने भएको छ। 

कम्पनीले आफ्नो कुल १ अर्ब ४ करोड रुपैयाँ जारी पुँजीको २० प्रतिशत अर्थात् २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको हो। 

यसमध्ये १० लाख ४० हजार कित्ता सेयर आयोजना प्रभावित सोलुखुम्बु जिल्लाका बासिन्दाका लागि छुट्याइएको छ। सोलुदुधकुण्ड नगरपालिकाका वडा नं. २, ३ र ४ का अति प्रभावित बासिन्दाले ५ लाख २० हजार कित्ता, वडा नं. ५, ६, ७ र ११ का बासिन्दाले ३ लाख १२ हजार कित्ता र जिल्लाका अन्य क्षेत्रका बासिन्दाले २ लाख ८ हजार कित्ता सेयरमा आवेदन दिन पाउनेछन्।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १ लाख ४ हजार कित्ता साधारण सेयर सुरक्षित गरिएको छ। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेकाहरूका लागि आवेदन दिने म्याद छिटोमा चैत ५ गते र ढिलोमा चैत १५ गतेसम्म तोकिएको छ भने स्थानीय बासिन्दाका लागि छिटोमा चैत १५ र ढिलोमा चैत ३० गतेसम्मको समय रहेको छ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा एनएमबि लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले एनएमबि बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका सोलुखुम्बुस्थित तोकिएका शाखाहरूबाट २ रुपैयाँ शुल्क बुझाई फाराम प्राप्त गर्न सक्नेछन्। वैदेशिक रोजगारीमा रहेकाहरूले भने सि-आस्बा प्रणाली वा 'मेरो सेयर' मार्फत अनलाइन आवेदन दिनुपर्नेछ। इक्रा नेपालले यस कम्पनीलाई 'इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस' प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।


प्रकाशित : शुक्रबार, फागुन १५ २०८२१०:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend