काठमाडौं- नेपालको सेयर बजारमा २०५० साल माघदेखि दोस्रो बजार कारोबार सुरू भएको हो। त्यसयता बजारमा धेरै पटक उल्लेख्य उतारचढाव हुँदै आएको छ। बजारको यस्तो उतारचढावमा चुनावी वर्ष भने विशेष बन्ने गरेको देखिन्छ। चुनावी वर्षको तथ्यांकले लगानीकर्ताको मनोविज्ञानमा परिवर्तनको आश देखाउँछ।
सामान्यत: निर्वाचनको माहोल तातिँदा त्यसलाई सेयर बजारले सकारात्मक रुपमा प्रतिक्रिया दिन्छ भन्ने मान्यता राखिन्छ। नेपालका पछिल्ला केही निर्वाचनको परिदृश्यमा एकाधबाहेक बजारले तुलनात्मक रुपमा राम्रै प्रतिक्रिया पनि दिएको छ तर यसपालिको निर्वाचनमा बजारको प्रतिक्रिया स्पष्ट छैन।
२०५० माघमा १०० को बिन्दुमा रहेको नेप्से सूचकांक अहिले २०८२ फागुन १४ गते बिहीबार २६५४.९३ बिन्दुमा आइपुगेको छ। २०७८ भदौ २ मा ३१९९.०३ बिन्दुमा पुगिसकेको नेप्से त्यसपछि उतारचढावमा रहँदै ओरालोतिर नै बढी देखिन्छ।
चुनावअघि धितोपत्र बजारमा सेयर कारोबार अब यही फागुन १७ गते आइतबार र १९ गते मंगलबार मात्रै हुने देखिएको छ। आउने सोमबारेखि नै सार्वजनिक बिदा रहेकाले सेयर कारोबारसमेत बन्द हुने छ।
मिश्रित चुनावी मतपरिणाम आउन सक्ने आँकलनले सेयर लगानीकर्तामा झनै अन्योल थपिँदा सेयर बजार बढ्न नसकेको विश्लेषकहरुको भनाइ छ। अब चुनावपछि बन्ने नयाँ सरकार र अर्थमन्त्री हेरेर मात्रै बजारमा गति अनुमान गर्न सकिने उनीहरू बताउँछन्।
पछिल्ला वर्षमा वैदेशिक मुद्राको सञ्चितिमा वृद्धि भएको, शोधनान्तर राम्रो रहेको तथा विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार भएलगायतका कारणले पनि मुलुकको अर्थतन्त्रमा सुधार भएको विश्लेषण भइरहेका छन्। तर गएको साता समग्रमा १२.८३ अंकले बढेको बजारमा अपेक्षाअनुरुप सुधार देखिन नसकेको बताइन्छ। अघिल्लो साता दुई दिन मात्र कारोबार भएको बजार २८.९१ अंकले घटेको थियो।
गएको भदौ २३-२४ गतेको युवा विद्रोहपछि हुन लागेको निर्वाचन आउन ६ दिनमात्र बाँकी छ। यस्तोमा सेयर बजार अहिलेसम्म शिथिल देखिएको छ। अपेक्षित रुपमा बजार चलायमान देखिएको छैन। आखिर यस्तो किन भयो? के आगामी निर्वाचनबाट आउन सक्ने सम्भावित परिणामलाई यसको कारकका रुपमा लिन सकिन्छ?
सेयर बजारका सक्रिय लगानीकर्ताहरूका अनुसार अहिले बजारले ‘अर्लि रियाक्सन’ जनाएको हुनसक्छ। निर्वाचनको तयारीका क्रममा भएको र्याली तथा त्यसमा देखिएको वेभलाई लिएर बजार तथा लगानीकर्ताले प्रतिक्रिया दिएको हुनसक्ने उनीहरूको भनाइ छ।
विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी सत्तामा गयो भने उसले अहिलेसम्मका गलत अभ्यासलाई तोड्ने र नयाँ प्रणाली बसाउने घोषणा गरेको छ। यदि यस्तो भएमा निर्माण हुने नयाँ इकोनोमिक अर्डरमा लगानीकर्ता फिट भइन्छ कि भइँदैन भन्ने दोधारमा हुँदा अहिले होल्डको अवस्थामा छन्।
पछिल्लो समय उतारचढावपूर्ण अवस्थामा देखिएको सेयर बजारमा लगानीर्ताहरू निरास भइरहेको संकेतहरू देखिएका छन्। चुनावी माहोलले बढ्ने अपेक्षा गरिएको बजारमा खास उत्साह देखिन सकेको छैन।
सेयर बजार उतारचढावपूर्ण अवस्थाबाट चुनावी चहलपहलसँगै लगातार वृद्धिको बाटोमा देखिने विश्लेषण भइरहँदा त्यसअनुरुप वृद्धि भने देखिन सकेको छैन। अहिलेको अवस्थाबाट बजार वृद्धिमा जाने र त्यो निरन्तर रहने विश्लेषणका बीच लगानीकर्ताहरू अझै पनि पर्ख र हेरको अवस्थामा नै देखिन्छन्।
कस्तो छ सेयर बजारमा चुनावको प्रभाव?
२०५१ सालको चुनावपछि बजार केही अंक घटेको थियो तर २०५६ को चुनावको अगाडि र पछाडि दुवै समयमा बजार बढेको तथ्यांकले देखाउँछ।
२०५६ को जेठमा चुनावी मिति घोषणाअघि र पछि बजार बढेको देखिन्छ। २०५५ को अन्तिमतिर १९० अंकबाट बजार २०६ अंकको बिन्दुसम्म पुगेको थियो। २०५६ मा नेपाली कांग्रेसको बहुमतको सरकार बनेपछि सेयर बजार लगातार बढेर २०५७ मा ५१९.३३ को बिन्दुमा पुगेको थियो। पछि माओवादी द्वन्द्वले ठूलो रूप लिएपछि भने सेयर बजार ओरालो लागेको तथ्यांकले देखाउँछ। २०५८ मा १९८.४४ को बिन्दुमा झरेको नेप्से २०६४ को संविधानसभाको चुनावताका भने उच्च अंकले बढेको थियो।
२०६४ को चुनावभन्दा अगाडि ३५५.६० को बिन्दुमा रहेको नेप्से चुनाव सकिएपछि ६८३.९५ बिन्दुमा पुगेको थियो। माओवादी द्वन्द्वको समाधानसँगै धेरै अनौपचारिक पैसा सेयर बजारमा आएको अनुमान उक्त समयमा गरिएको थियो। जसका कारण घरजग्गा र सेयर बजार दुवैतर्फ २०६४ सालदेखि केही वर्ष उभार आएको थियो।
२०७० मा दोस्रो संविधानसभाको चुनाव अघि र पछि पनि बजार बढेको देखिन्छ। २०७० को चुनाव घोषणाअगाडि ३८९.७४ बिन्दुमा रहेको नेप्से चुनाव घोषणपछि बढ्दै ५१८.३ बिन्दुमा नेप्से पुगेको थियो।
सेयर बजारमा २०७२ असार मसान्तमा ९६१.२३ बिन्दुमा रहेको सूचकांक २०७३ साउन १२ गते ततसमयको उच्च बिन्दु अर्थात १८८१.४५ पुगेको थियो। तर २०७४ को चुनावताका भने नेप्से परिसूचक बढ्न सकेन।
तत्कालीन समय नेकपा माओवादी र नेकपा एमाले गठबन्धनसहित चुनावमा होमिएका थिए। उक्त समयमा झन्डै दुई तिहाइ मतसमेत उक्त गठबन्धनले ल्याएको थियो। उक्त समयमा सेयर बजारलाई चुनावले छुन सकेन। जसका कारण चुनावअगाडि १५२०.२ बिन्दुमा रहेको नेप्से २०७४ फागुनमा पुग्दा १२८६ बिन्दुमा पुगेको थियो।
आर्थिक वर्षमा हेर्दा २०७७/७८ मा २८८३.४१ मा रहेको नेप्से २०७८ भदौ २ मा त अहिलेसम्मकै उच्च ३१९९.०३ बिन्दुसम्म पनि पुगेको थियो।२०७९ को चुनावमा बजारको उल्लास अपेक्षाकृत भएन। बजार १९०० को बिन्दु आसपास तलमाथि गरिरहेको थियो। चुनावी परिणामले सिर्जना गर्नसक्ने सरकार गठनको अन्योलताले सेयर बजारमा प्रभाव परेको थियो। आर्थिक वर्षमा २०७९/८० को अन्त्यमा बजार २०९७.१० बिन्दुमा थियो।