काठमाडौं- टोयोटा मोटर कर्पोरेसनले आफ्ना मुख्य वित्तीय साझेदारहरूको स्वामित्वमा रहेको करिब १९ अर्ब डलर (करिब २.९ ट्रिलियन येन) बराबरको सेयर बिक्री गर्ने योजना बनाएको छ। यस मामिलाका जानकार स्रोतहरूका अनुसार जापानी अटोमोबाइल क्षेत्रकै यो सम्भवतः सबैभन्दा ठूलो 'क्रस-होल्डिङ सेयर' अन्त्य गर्ने कदम हुन सक्नेछ।
यस बिक्री प्रक्रियामा टोयोटाका दीर्घकालीन साझेदारहरू जस्तै: मिजुहो फाइनान्सियल ग्रुप, सुमितोमो मित्सुई फाइनान्सियल ग्रुप र केही ठूला बीमा कम्पनीहरू संलग्न हुने अपेक्षा गरिएको रोयटर्सले लेखेको छ। यी संस्थाहरूले दशकौंदेखि टोयोटासँगको व्यावसायिक सम्बन्ध र सुरक्षाका लागि कम्पनीको ठूलो हिस्सा सेयर होल्ड गर्दै आएका थिए।
जापान सरकार र टोकियो स्टक एक्सचेन्जले पछिल्लो समय कम्पनीहरूलाई यस्तो 'क्रस-सेयर होल्डिङ' संरचना हटाउन कडा दबाब दिँदै आएका छन्। यस्तो संरचनाले गर्दा कम्पनीको व्यवस्थापनमा बाह्य लगानीकर्ताको निगरानी कम हुने र पुँजीको दक्षता घट्ने तर्क गरिँदै आएको छ। टोयोटाको यो निर्णयले जापानका अन्य ठूला औद्योगिक घरानाहरूलाई पनि आफ्नो सेयर संरचना परिवर्तन गर्न बलियो सन्देश दिएको छ।
बजारमा यति ठूलो परिमाणमा सेयर आउँदा लगानीकर्ताहरूमा पर्न सक्ने नकारात्मक असर र सेयर मूल्यमा आउन सक्ने गिरावटलाई ध्यानमा राख्दै टोयोटाले तीमध्ये ठूलो हिस्सा आफैले खरिद गर्ने योजना बनाएको छ। यसरी टोयोटा आफैले सेयर खरिद गर्दा बजारमा सेयरको आपूर्ति सन्तुलित रहने र बाँकी रहेका सेयरधनीहरूको प्रतिसेयर आम्दानीमा वृद्धि हुने अपेक्षा गरिएको छ।
यो कदम टोयोटाको पछिल्लो रणनीतिको एउटा हिस्सा मानिएको छ। जसअन्तर्गत कम्पनीले विद्युतीय सवारीसाधन, सफ्टवेयर विकास र भविष्यका प्रविधिहरूमा लगानी गर्नका लागि आवश्यक पुँजी जुटाउन र आफ्नो ब्यालेन्स सिटलाई थप चुस्त बनाउन खर्च बढाउन सहयाेग पुग्ने छ। टोयोटाले पहिले नै आफ्ना समूहका अन्य कम्पनीहरू जस्तै: डेन्सो र टोयोटा इन्डस्ट्रिजसँगको सेयर साझेदारी पनि घटाउन सुरु गरिसकेको छ।
यद्यपि टोयोटा र सम्बन्धित बैंकहरूले यसबारे औपचारिक टिप्पणी गर्न अस्वीकार गरेका छन्। तर रोयटर्समा यो समाचार सार्वजनिक भएलगत्तै जापानी सेयर बजारमा टोयोटाको यो कदमलाई सकारात्मक रूपमा हेरिएको छ। किनकि यसले कम्पनीलाई थप आधुनिक र लगानीकर्तामैत्री बनाउने विश्वास गरिएको छ। टोयोटाको पछिल्लो सेयर कारोबार पनि २ प्रतिशतले वृद्धि भएको छ।