काठमाडौं- नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरूको व्यवसायमा सुधार देखिएको छ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीहरूले कुल १ खर्ब ११ अर्ब ५ करोड ७९ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन्।
यो आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.४३ प्रतिशतले बढी हो। गत वर्षको माघसम्ममा यी कम्पनीहरूले ९५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए।
कुल बीमा शुल्क आर्जनका आधारमा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ। कम्पनीले आफ्नो व्यवसाय १३.८१ प्रतिशतले बढाउँदै २९ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ पुर्याउन सफल भएको छ। दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले १८.४६ प्रतिशतको वृद्धिसहित १३ अर्ब ३१ करोड ११ लाख रुपैयाँ संकलन गरेको छ भने एलआइसी नेपालले १२ अर्ब ३ करोड रुपैयाँ आर्जन गरेको छ।
व्यवसाय वृद्धिदरका आधारमा भने सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीकाे बीमा शुल्क संकलन ९३ प्रतिशतले बढेर ७ अर्ब ६१ करोड रुपैयाँ पुगेकाे छ। आइएमई लाइफ इन्स्योरेन्सकाे पनि शुल्क संकलन ३३ प्रतिशतले बढेकाे छ। याे कम्पनीले ३ अर्ब ८६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ।
पछिल्लो सात महिनामा हिमालयन लाइफ इन्स्योरेन्सले १० अर्ब ४३ करोड, सूर्यज्योति लाइफले ६ अर्ब ६६ करोड र एशियन लाइफ इन्स्योरेन्सले ५ अर्ब ५६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। यस्तै, सिटिजन लाइफको व्यवसाय १८.९५ प्रतिशतले बढेर ४ अर्ब ७३ करोड पुगेको छ भने सानिमा रिलायन्स लाइफले ४ अर्ब २७ करोड रुपैयाँ आर्जन गरेको छ।
त्यसैगरी, मेट लाइफले ३ अर्ब ७१ करोड, रिलायबल नेपाल लाइफले ३ अर्ब ४८ करोड, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब २५ करोड र सन नेपाल लाइफ इन्स्योरेन्सले २ अर्ब ४९ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन्।