काठमाडाैं- कालिन्चोक हाइड्रोपावर लिमिटेडले आज फागुन १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ।
कम्पनीले आफ्नो ५५ करोड रुपैयाँ जारी पुँजीको २५ प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको हो।
यसमध्ये ५ लाख ५० हजार कित्ता सेयर दोलखा जिल्लाको बिगु नगरपालिका वडा नं. ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. १ र २ का स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको छ। सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ८२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सुरक्षित गरिएको छ।
यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्कासन बन्द हुने समय वैदेशिक रोजगारीमा रहेकाहरूका लागि फागुन १७ गते र स्थानीयका लागि फागुन २७ गते तोकिएको छ। माग बमोजिम आवेदन नपरेमा स्थानीयका लागि चैत १३ गतेसम्म समय थपिन सक्नेछ। केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी’ रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड यस आईपीओ निष्कासनको बिक्री प्रबन्धक रहेको छ। स्थानीय बासिन्दाले निय बासिन्दाले बिक्री प्रबन्धकका साथै कालिन्चोक हाइड्रोपावर, बिगु गाउँपालिका ८, नेपाल बैंक, सिन्धु विकास बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सिङगटी शाखा कार्यालयबाट २ रुपैयाँमा फाराम प्राप्त गरी आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले मेरो सेयर अनलाइन वा आस्बा सेवा सहभागी बैंकहरूबाट सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्ने छन।