काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षाबाट सूचना प्रविधि र निर्यातमूलक उद्योगलाई पनि प्राथमिकताप्राप्त कर्जा प्रवाहको क्षेत्रमा समावेश गरेको छ।
कृषि, ऊर्जा र लघु, घरेलु तथा साना उद्यम/व्यवसायमा कर्जा विस्तार प्रोत्साहन गर्ने उद्देश्यले कार्यान्वयनमा ल्याइएको क्षेत्रगत कर्जा सीमाको दायरामा पर्यटन, सूचना प्रविधि र स्वदेशी कच्चा पदार्थमा आधारित निर्यातमूलक उद्योगहरूसमेत समावेश गरिने समीक्षाबाट घोषणा गरिएको छ।
योसँगै बैंक तथा वित्तीय संस्थाले त्यस्ता प्रत्येक क्षेत्रमा न्यूनतम कर्जा अनुपात कायम गर्नुपर्ने विद्यमान व्यवस्था परिमार्जन गरिने राष्ट्र बैंकले उल्लेख गरेको छ।
सूचना प्रविधिको क्षेत्रमा विदेशी लगानी आकर्षित गर्न सहवित्तीयकरणको कर्जामा पनि सहजीकरण गर्ने उल्लेख गरिएको छ। डेटा सेन्टर, क्लाउड कम्प्युटिङ र एआईमा विदेशी लगानी आएमा यस्तो सहजीकरण गरिने छ।