शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मंगलबार सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

सोमबार, फागुन ११ २०८२
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मंगलबार सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

मौद्रिक नीति तर्जुमा कार्यविधि २०७३ बमोजिम हरेक त्रैमास सकिएको ४५ दिनभित्र समीक्षा ल्याउनुपर्ने प्रावधानअनुसार राष्ट्र बैंकले यो समीक्षा सार्वजनिक गर्न लागेको हो।

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा भोलि मंगलबार सार्वजनिक गर्ने तयारी गरेको छ। 

मौद्रिक नीति तर्जुमा कार्यविधि २०७३ बमोजिम हरेक त्रैमास सकिएको ४५ दिनभित्र समीक्षा ल्याउनुपर्ने प्रावधानअनुसार राष्ट्र बैंकले यो समीक्षा सार्वजनिक गर्न लागेको हो। 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण निर्वाचन आचारसंहिता लागु भइसकेको अवस्थामा आउन लागेको यो समीक्षालाई अर्थतन्त्र र बैंकिङ क्षेत्रले निकै चासोका साथ हेरेको छ।

अहिले राष्ट्र बैंकको टोली तथ्यांक विश्लेषण र समीक्षाको अन्तिम मस्यौदा तयार पार्न व्यस्त छ। यसपटक नीतिगत व्यवस्थामा ठूलो फेरबदल हुने सम्भावना भने कम देखिएको छ। 

निर्वाचन आचारसंहिताका कारण नयाँ नीतिगत घोषणा गर्न प्राविधिक कठिनाइ हुनुका साथै केन्द्रीय बैंकले पहिलो त्रैमासिक समीक्षामार्फत नै तरलता र ब्याजदर सन्तुलनका लागि आवश्यक धेरैजसो सहुलियत प्रदान गरिसकेकाले यसपटक विद्यमान नीतिहरूको निरन्तरतामै जोड दिइने बैंकिङ क्षेत्रको विश्लेषण छ।

अहिले अर्थतन्त्रमा देखिएको सुस्तता, उद्योगव्यवसाय विस्तारको कमजोर वातावरण र नीतिगत अनिश्चितताले कर्जा माग बढ्न सकेको छैन। हाल बैंकिङ प्रणालीमा करिब १२ खर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएको छ। अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले विभिन्न उपकरण प्रयोग गरिरहेको भए पनि ठूलो रकम केन्द्रीय बैंकमै पार्किङ भइरहेको छ।

निजी क्षेत्रमा कर्जा प्रवाह अझै सुस्त रहेकाले लगानीकर्ताहरूमा केही आशा भने बाँकी छ। राष्ट्र बैंकले उत्पादनशील क्षेत्र र साना व्यवसायीहरूलाई थप प्रोत्साहित गर्नेगरी केही प्राविधिक सुधारात्मक कदमहरू चाल्न सक्ने अपेक्षा गरिएको छ। 

समीक्षाले निजी क्षेत्रको खस्किएको मनोबल उकास्न र बैंकहरूको लगानी क्षमतालाई सक्रिय बनाउन कस्तो भूमिका खेल्छ भन्ने विषयमा चासो छ।


प्रकाशित : सोमबार, फागुन ११ २०८२१६:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend