काठमाडौं- गरिमा क्यापिटल लिमिटेडले फागुन २८ गतेदेखि आफ्नो दोस्रो म्युचुअल फण्ड गरिमा सुवर्ण योजना निष्कासन गर्ने भएको छ।
यो एक खुलामुखी योजना हो। जसको कुल आकार १ अर्ब रुपैयाँ भएतापनि पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाइ बिक्रीमा ल्याइँदैछ।
निष्कासन गरिने कुल इकाइमध्ये १५ प्रतिशत अर्थात् ९० लाख इकाई कोष प्रवर्द्धक गरिमा विकास बैंक र ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटलका लागि सुरक्षित गरिएको छ। बाँकी ३ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा बिक्री खुला गरिनेछ। पहिलो चरणको बिक्री पश्चात बाँकी रहेका इकाईहरू नियमावली बमोजिम तोकिएका केन्द्रहरूबाट निरन्तर खरिद-बिक्रीका लागि उपलब्ध हुनेछन्।
यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अवधि छिटोमा चैत २ गतेसम्म रहेको छ भने पर्याप्त आवेदन नपरेको खण्डमा म्याद चैत १२ गतेसम्म थप हुन सक्नेछ।
लगानीकर्ताले सि-आस्बा प्रणालीमार्फत अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरू वा मेरो सेयरको वेब तथा एप प्रयोग गरी सहजै आवेदन दिन सक्नेछन्।