काठमाडाैं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत होटल तथा पर्यटन समूहका सात कम्पनीमध्ये चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म पाँचवटा कम्पनी नोक्सानीमा देखिएका छन्।
सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार यो अवधिमा सोल्टी होटल र कालिञ्चोक दर्शन लिमिटेडले मात्रै नाफा कमाउन सफल भएका छन् भने तारागाउँ रिजेन्सी, ओरियन्टल, चन्द्रागिरि हिल्स, सिटी होटल र बन्दीपुर केबलकारको वित्तीय अवस्था ऋणात्मक देखिएको छ। यस समूहमा सोल्टी होटलले ३४ करोड ७५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १५.१९ प्रतिशतको बढोत्तरी हो।
त्यस्तै, कालिञ्चोक दर्शनको नाफामा उच्च वृद्धि देखिएको छ। कम्पनीले अघिल्लो वर्षको ४७ लाख ४६ हजारको तुलनामा १५२.६८ प्रतिशतले नाफा बढाएर १ करोड १९ लाख रुपैयाँ पुर्याएको छ।
यसविपरित, तारागाउँ रिजेन्सी होटल्सको अवस्थामा ठूलो गिरावट आएको छ। गत वर्ष १८ करोड ६७ लाख रुपैयाँ नाफामा रहेको यो होटल अहिले आन्दोलनका कारण भएको क्षति र संरचना निर्माणमा लाग्नुपरेकाले ९ करोड ७ लाख रुपैयाँ नोक्सानीमा पुगेको छ।
चन्द्रागिरि हिल्स ४ करोड ७० लाख र ओरियन्टल होटल्स पनि गत वर्षको नाफाबाट २ करोड ७४ लाख रुपैयाँको घाटामा झरेका छन्। नयाँ सूचीकृत बन्दीपुर केबलकार ७४ लाख ९१ हजार र सिटी होटल १० करोड ९ लाख रुपैयाँ नोक्सानीमा रहेका छन्।
आम्दानीको हिसाबले पनि सोल्टी होटल नै अग्रस्थानमा देखिएको छ। सोल्टीले ६ महिनामा १ अर्ब ४५ करोड रुपैयाँ आम्दानी गरेको छ भने तारागाउँ रिजेन्सीको आम्दानीमा ७५.२६ प्रतिशतको भारी गिरावट आएको छ।
कालिञ्चोक दर्शन र बन्दीपुर केबलकारले आफ्नो आम्दानीमा सुधार गरे पनि चन्द्रागिरि र ओरियन्टलको आम्दानीमा संकुचन देखिएको छ।