काठमाडाैं- शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गर्ने भएकाे छ।
यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली र सामूहिक लगानी कोषका लागि सेयर बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आवेदन खुला गर्ने भएकाे हाे।
कम्पनीले आफ्नो कुल जारी पुँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात् ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। सोमध्ये ९ लाख ८० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि, २ लाख २२ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिसकिएको छ। अब कम्पनीले आफ्ना कर्मचारीका लागि ४४ हजार ४०० कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको १८ लाख ४२ हजार ६०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।
इच्छुक लगानीकर्ताले यस आईपीओमा प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यो निष्कासन छिटोमा फागुन २२ गते र ढिलोमा चैत १ गतेसम्म बन्द हुनेछ। आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई 'इक्राएनपी इस्यूअर रेटिङ डबल बी' प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
यस सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले रहेकाे छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूका साथै 'मेरो शेयर' मार्फत सजिलै आवेदन दिन सक्नेछन्।