काठमाडाैं- मुलुकको आर्थिक सुस्तता र कर्जा असुलीमा आएको अवरोधका कारण वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति वृद्धि भएको छ।
वाणिज्य बैंकहरूले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मकाे वित्तीय विवरणअनुसार पुस मसान्तसम्ममा १९ वटा वाणिज्य बैंकको कुल गैरबैंकिङ सम्पत्ति ४६ अर्ब ५६ करोड १७ लाख रुपैयाँ पुगेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.८० प्रतिशत अर्थात ७ अर्ब ६९ करोड ३० लाख रुपैयाँले बढी हो। गत आव २०८१/०८२ को पुससम्म यस्तो सम्पत्ति ३८ अर्ब ८६ करोड ८६ लाख रुपैयाँ मात्र थियो।
राष्ट्रिय वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति २.९८ प्रतिशतले घटेर २८ करोड ८७ लाख रुपैयाँ कायम भएको छ भने एभरेष्ट बैंकको ०.६७ प्रतिशतले घटेर ५१ करोड ६९ लाख रुपैयाँमा झरेको छ।
त्यसैगरी माछापुच्छ्रे बैंककाे गैर-बैंकिङ सम्पत्तिमा ४३.८६ प्रतिशतको गिरावट ल्याएर ६० करोडमा सीमित राखेको छ भने कुमारी बैंकको यस्ताे रकम ६.६३ प्रतिशतले घटेर २ अर्ब ४९ करोड ४ लाख रुपैयाँ पुगेको छ। यी चार बैंकबाहेक अन्य सबैको गैरबैंकिङ सम्पत्तिमा वृद्धि देखिएको छ।
त्यसैगरि, नेपाल बैंकको यस्तो सम्पत्ति २९.४५ प्रतिशतले बढेर २६ करोड ४२ लाख पुगेको छ। नबिल बैंकमा सामान्य वृद्धि भएर ३ अर्ब ४१ करोड ४१ लाख रुपैयाँ पुगेको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २५.७८ प्रतिशतले बढेर ३ अर्ब ८७ करोड ९४ लाख पुगेको छ। हिमालयन बैंकको गैर-बैंकिङ सम्पत्तिमा ४४.२१ प्रतिशतको वृद्धि देखिएको छ। जसको कुल रकम ६ अर्ब १३ करोड १ लाख रुपैयाँ पुगेको छ। नेपाल एसबीआई बैंकको गैरबैंकिङ सम्पत्तिमा सबैभन्दा धेरै १८८.२७ प्रतिशतको उछाल आएर १ अर्ब २ करोड रुपैयाँ पुगेको छ।
त्यसैगरी एनआईसी एसिया बैंकको ५.९७ प्रतिशतले बढेर ४ अर्ब ३१ करोड ७४ लाख, लक्ष्मी सनराइज बैंकको ४२.२१ प्रतिशतले बढेर २ अर्ब २४ करोड ९० लाख र सिद्धार्थ बैंकको ९.६८ प्रतिशतले बढेर ७७ करोड २० लाख रुपैयाँ पुगेको छ।
कृषि विकास बैंकको ३१.६१ प्रतिशतले बढेर १ अर्ब ३३ करोड ६८ लाख पुगेकाे छ भने ग्लोबल आइएमई बैंकको ७.७० प्रतिशतले बढेर ५ अर्ब ९९ करोड ८७ लाख रुपैयाँ पुगेको छ।
सिटिजन्स बैंकको ३२.६९ प्रतिशतले बढेर १ अर्ब २७ करोड ५० लाख, प्राइम कमर्सियल बैंकको ११८.०८ प्रतिशतले बढेर ४ अर्ब ४१ करोड ५४ लाख, एनएमबी बैंकको ६२.९० प्रतिशतले बढेर १ अर्ब ८३ करोड २६ लाख, प्रभु बैंकको ४४.१८ प्रतिशतले बढेर १ अर्ब ७५ करोड ५० लाख र सानिमा बैंकको ३९.२९ प्रतिशतले बढेर १ अर्ब १ करोड ८४ लाख रुपैयाँ पुगेको छ। घरजग्गाको कारोबारमा आएको सुस्तता र कर्जा असुली नहुँदा बैंकहरूका लागि यो सम्पत्ति व्यवस्थापन अहिले मुख्य चुनौती बनेको छ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वाणिज्य बैंकको खराब कर्जा औसतमा ५.०८ प्रतिशत पुगेको छ। हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस्तो देखाएको हो। गत आर्थिक वर्षको सोहि अवधिमा बैकको औसत खराब कर्जा ४.४९ प्रतिशत रहेको थियो ।
वाणिज्य बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.५१ प्रतिशतले वृद्धि भएको देखिए पनि खराब कर्जा भने बढेको छ। समीक्षा अवधिमा २० वाणिज्य बैंकमध्ये यस अवधिमा ८ बैंकले खराब कर्जा घटाउन सफल भएका छन् भने बाँकी बैंकहरूको खराब कर्जा समान्य बढेकाे देखिएको छ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ७ वटा वाणिज्य बैंकहरुको खराब कर्जा ५ प्रतिशतभन्दा माथि पुगेको छ। यो अवधिमा हिमालयन बैंक लिमिटेडको खराब कर्जा सबैभन्दा बढी देखिएको छ। बैंकको खराब कर्जा ७.९७ प्रतिशत पुगेको छ। अधिल्लो आर्थिक वर्षको साहि अवधिमा बैंकको खराब कर्जा ४.९८ प्रतिशत थियो।