काठमाडौं- आगामी फागुन २१ गते हुने निर्वाचनको प्रभाव सेयर बजारमा प्रत्यक्ष देखिन थालेको छ। राजनीतिक परिणामको प्रतीक्षामा रहेका लगानीकर्ताका कारण नेप्से परिसूचक पछिल्लो पाँच कारोबार दिनदेखि करिब १० अंकको साँघुरो दायराभित्र तलमाथि हुँदै आएको छ। सूचकमा ठोस उकालो वा ओरालो ट्रेन्ड नदेखिनु बजारमा अनिर्णयको अवस्था हाबी रहेको संकेतका रूपमा विश्लेषण गरिएको छ।
गत माघ २६ गते २६७२.३९ अंकमा बन्द भएको बजार त्यसको भोलिपल्ट २६६२.१४ अंकमा झरेको थियो। माघ २८ गते २६६२.०९ अंकमा बन्द हुँदा २९ गते २६७१.०७ अंक कायम भएको थियो। सोमबार बजार २६६२.९१ अंकमा बन्द भएको छ। पाँच दिनको अवधिमा सूचक सीमित दायरामै घुमिरहनुले लगानीकर्ता निर्णायक कदम चाल्न तयार नभएको स्पष्ट देखिन्छ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि हुन लागेको यो निर्वाचनमा नयाँ र पुराना राजनीतिक शक्तिहरू प्रतिस्पर्धामा छन्। परिणाम जे आए पनि अपेक्षाकृत युवा नेतृत्व उदाउने अनुमानले बजारमा मनोवैज्ञानिक प्रभाव पारेको छ।
लगानीकर्ताहरू नयाँ सरकारको नीति, आर्थिक एजेण्डा र पूँजीबजारप्रतिको दृष्टिकोण कस्तो हुन्छ भन्ने स्पष्ट संकेत पर्खिरहेका छन्। यही कारण बजारमा ठूलो परिमाणको खरिद वा बिक्री दबाब देखिएका छैनन।
नेप्से अहिले चुनावी परिणामको प्रतीक्षामा स्थिर जस्तै देखिएको छ। राजनीतिक स्पष्टता र नयाँ सरकारको आर्थिक नीति सार्वजनिक भएसँगै मात्र बजारले नयाँ दिशा समाउने सम्भावना देखिएको छ। तबसम्म बजार साँघुरो दायरामै सीमित रहने संकेत प्रष्ट रूपमा देखिएको छ।
सोमबार कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ११ अर्ब १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएकोमा सोमबार ७ अर्ब ९४ करोड रुपैयाँमा सीमित भएको छ। कारोबार रकम घट्नुले बजारमा सक्रियता कमजोर भएको र ठूला लगानीकर्ता समेत प्रतीक्षामा रहेको संकेत दिन्छ। यस दिन फ्लोट इन्डेक्स ०.३० प्रतिशत, सेन्सेटिभ इन्डेक्स ०.२३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२६ प्रतिशतले घटेका छन्। ८६ कम्पनीको सेयर मूल्य बढ्दा १६३ को घटेको र ९ वटाको स्थिर रहनुले बिक्री दबाब अझै कायम रहेको देखाउँछ।
क्षेत्रगत रूपमा वित्त, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूहबाहेक अन्य सबै समूहगत सूचक घटेका छन्। सर्वाधिक गिरावट जलविद्युत समूहमा देखिएको छ, जसको सूचक १.०२ प्रतिशतले घटेको छ। सर्वाधिक मूल्य बढ्ने कम्पनीमा बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी, रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंक लिमिटेड रहेका छन्।
जसको सेयर मूल्य समान १० प्रतिशतले बढेको छ। सर्वाधिक मूल्य घट्नेमा खानीखोला हाइड्रोपावर कम्पनी छ, जसको सेयर ९.३८ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा शीर्ष कम्पनीमध्ये रिडी पावर कम्पनी अग्रस्थानमा रहेको छ, जसको ६५ करोड ३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।