काठमाडाैं- नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूको कुल लगानी ६४ अर्ब २८ करोड २३ लाख रुपैयाँ पुगेको छ।
कुल लगानीमध्ये अधिकांश हिस्सा बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा देखिएको छ। बीमकहरूले ४६ अर्ब ५१ करोड ३ लाख रुपैयाँ अर्थात् कुल लगानीको ७२.३५ प्रतिशत रकम मुद्दती निक्षेपमा राखेका छन्।
यसमध्ये 'क' वर्गका बैंकहरूमा ४१ अर्ब ३१ करोड ४ लाख रुपैयाँ, 'ख' वर्गका बैंकहरूमा ४ अर्ब १९ करोड ६३ लाख रुपैयाँर 'ग' वर्गका वित्तीय संस्थाहरूमा १ अर्ब ३५ लाख रुपैयाँ लगानी भएको छ।
लगानीका अन्य क्षेत्रतर्फ बीमकहरूले सूचीकृत पब्लिक कम्पनीको सेयरमा ५ अर्ब ३६ करोड ८ लाख रुपैयाँ र बैंक तथा वित्तीय संस्थाका ऋणपत्र एवं बन्डहरूमा ३ अर्ब १५ करोड २ लाख रुपैयाँ परिचालन गरेका छन्।
त्यसैगरी सरकारी बचतपत्रमा ६३ करोड ३५ लाख रुपैयाँ, नागरिक लगानी कोष तथा म्युचुअल फन्डमा १ अर्ब ५१ करोड ९१ लाख रुपैयाँ र अन्य संस्थापक सेयरहरूमा २ अर्ब ७४ करोड १३ लाख रुपैयाँ लगानी भएको प्राधिकरणको तथ्यांकले देखाएको छ। बीमकहरूले उत्पादनमूलक क्षेत्र मानिने कृषि, पर्यटन, जलविद्युत्, शिक्षा र स्वास्थ्य जस्ता पूर्वाधारका क्षेत्रमा भने १ अर्ब १० करोड ७२ लाख रुपैयाँ मात्र लगानी गरेका छन्।
यता सञ्चालनमा रहेका ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूले पनि २ अर्ब ५० करोड ९१ लाख रुपैयाँ लगानी पुर्याएका छन्। लघु बीमकहरूमध्ये नेपाल माइक्रोइन्स्योरेन्स ८१ करोड १९ लाख रुपैयाँ लगानीसहित अग्रस्थानमा छ भने स्टार माइक्रोले ५८ करोड ७० लाख रुपैयाँ, प्रोटेक्टिभ माइक्रोइन्स्योरेन्सले ५६ करोड ६२ लाख रुपैयाँ र ट्रस्ट माइक्रोइन्स्योरेन्सले ५४ करोड ३८ लाख रुपैयाँ लगानी गरेका छन्।
लघु बीमकहरूको करिब २ अर्ब १७ करोड रुपैयाँ मुद्दती निक्षेपमा छ भने ३१ करोड ६३ लाख रुपैयाँ साधारण सेयरमा लगानी भएको देखिन्छ।