काठमाडौं- गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरूले ५ अर्ब ९ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेका छन्। गत पुसमा ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन गरेकामा माघमा भने केही घटेको हो।
देशभरका मालपोतको राजस्व संकलन लगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार उल्लेख्य रूपमा बढ्न सकेको छैन। विभागका अनुसार गत माघ महिनामा कुल ५० हजार ८ सय ३७ लिखत पारित भएको छ। गत वर्षको तुलनामा यस वर्षको माघमा लिखत पारितको संख्यामा केही बढोत्तरी भएको छ।
विभागका अनुसार गत माघमा सेवा करबापत ३१ करोड ५८ लाख ७२ हजार ४ सय ८८ रुपैयाँ, रजिस्ट्रेसन दस्तुर २ अर्ब ६८ करोड ६९ लाख ४२ हजार ५ सय ३२ रुपैयाँ संकलन भएको थियो। त्यसैगरी पुँजीगत लाभकरबापत १ अर्ब ९६ करोड ५५ लाख १२ हजार २ सय ६७ रुपैयाँ संकलन भएको विभागले जनाएको छ। रासस