शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

प्रतिकूल मौसमका कारण गोसाइँकुण्ड तीर्थयात्रा प्रभावित

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन ३ २०८२
प्रतिकूल मौसमका कारण गोसाइँकुण्ड तीर्थयात्रा प्रभावित

स्थानीय व्यवसायीका अनुसार अचानक मौसम बिग्रिएपछि कुण्ड जाँदै गरेका तीनवटा हेलिकप्टर चन्दनबारीको आकाशबाटै फर्किएका छन्।

रसुवा- रसुवाको उच्च हिमाली क्षेत्रमा प्रतिकूल मौसमका कारण महाशिवरात्रि पर्वका अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड जाने धार्मिक यात्रु प्रभावित भएका छन्। लौरिविनायकदेखि कुण्ड क्षेत्रसम्म बाक्लो कुहिरो लागेपछि हवाईसेवा अवरुद्ध हुँदा हवाई आवागमनमा समस्या आएको हो।

स्थानीय व्यवसायीका अनुसार अचानक मौसम बिग्रिएपछि कुण्ड जाँदै गरेका तीनवटा हेलिकप्टर चन्दनबारीको आकाशबाटै फर्किएका छन्। प्रभु एयर र अल्टिच्युट एयरका उडान अवरुद्ध भई यात्रुहरू सुरक्षित रूपमा काठमाडौं फर्काइएको जनाइएको छ।

हेलिकप्टर कम्पनीको विवरण अनुसार प्रतिकूल मौसमका कारण ५० भन्दा बढी तीर्थयात्रु प्रभावित भएका छन्। तीर्थयात्रु बोकेर उडान भर्ने कम्पनीमा सिम्रिक एयर, फिस्टेल एयर, अन्नपूर्ण एयर र मुस्ताङ एयरसमेत रहेका थिए। तीमध्ये केही कम्पनीका हेलिकप्टर तेस्रो उडानपछि बिहान ११ बजेपछि मात्र रोकिएका थिए, भने कोही कम्पनीका हेलिले बिहानैको समयमा भने उडान सामान्य रूपमा सञ्चालन गरेका थिए।

गोसाइँकुण्डको जल निकास नजिक सिम्रिक एयरले निर्माण गरेको शिव मन्दिरमा कम्पनीकै तर्फबाट शास्त्रीय विधिपूर्वक पूजा-आराधना सम्पन्न गरिएको थियो।

कम्पनीका कार्यकारी निर्देशक विष्णु बस्नेतको अगुवाइमा पुरोहित ऋषिकेश भट्टराईसहितको टोलीले कुण्ड र मन्दिर परिसरमा विशेष पूजा गरेको उडान व्यवस्थापक रवि पोखरेलले जानकारी दिए।

धार्मिक विश्वास अनुसार पवित्र कुण्डमा स्नान गरी भगवान शिवको पूजा गर्दा रोगव्याध हट्ने, सुख-शान्ति प्राप्त हुने र मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ। रासस


प्रकाशित : आइतबार, फागुन ३ २०८२१४:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend